कर्णाली प्रदेशको कर : प्रदेश–५ मा दोहोरो करको मारमा करदाता
Sep 25, 2018
 
प्रदेश समाचार
रुकुम । प्रदेश गठनपछि राज्यको सेवासुविधा सहज हुने जनताको अपेक्षा थियो । तर, कर्णाली प्रदेशको कर भने प्रदेश–५ मा तिर्नुपर्ने बाध्यता छ । कर्णाली प्रदेशअन्तर्गत पर्ने रुकुम पश्चिमका व्यक्तिगत, संस्थागत र निजीक्षेत्रहरू प्रदेश–५ मा कर तिर्न बाध्य रहेका हुन् । जिल्लामा आन्तरिक राजस्व कार्यालयको संरचना नहुनुका साथै सङ्घीय संरचनाअनुसार प्रदेशस्तरमा आन्तरिक राजस्व कार्यालय नहुँदा कर्णाली प्रदेशको राजस्व प्रदेश–५ मा तिर्नुपरेको हो ।
सङ्घीय संरचनाअनुसार प्रदेश र जिल्लास्तरमा कर कार्यालय स्थापना नहुँदा रुकुम पश्चिमका उद्योगी, व्यापारी, सङ्घसंस्था, सहकारी र व्यक्तिगत प्यान नम्बर भएका करदाताले साविकको राप्ती अञ्चलअन्तर्गत आन्तरिक राजस्व कार्यालय दाङ, तुल्सीपुरमा कर बुझाउने गरेको रुकुम उद्योग वाणिज्य सङ्घ रुकुमका अध्यक्ष टेकबहादुर पुनले बताए । उनले भने, ‘नयाँ संरचनाअनुसार कर कार्यालय स्थापना नहुँदा एउटा प्रदेशको राजस्व अर्को प्रदेशमा बुझाउनुपरेको छ ।’
रुकुम चौरजहारीबाट कर तिर्न दाङ तुलसीपुर पुगेका सावित्री शर्माले नयाँ संरचनामा पुरानै प्रणालीबाट कर तिर्नुपर्ने बाध्यता रहेको गुनासो गरिन् । ‘जिल्लामा कर कार्यालय नहुँदा ५ हजार कर तिर्न यति नै रकम खर्च गर्नुपर्ने बाध्यता छ,’ उनले भनिन् ।
नयाँ संरचनाअनुसार स्थानीय तहहरूमै चर्को कर तिर्नुपर्ने र आन्तरिक राजस्व कार्यालयमा पनि कर बुझाउनुपर्ने भएकाले व्यवसायी करको दोहोरो मारमा परेका छन् । मुसीकोट–१ रुकुम पश्चिममा होटल व्यवसाय गर्दै आएका नवराज गिरीले भने, ‘व्यवसायीहरू करको दोहोरो मारमा परेका छन् ।’ उनका अनुसार स्थानीय तह र आन्तरिक राजस्व कार्यालयमा गरी दुई थरी कर बुझाउनुपर्छ । स्थानीय तहहरूले तहगत रूपमा फरकफरक कर निर्धारण गरेका छन् भने कारोबारको आधारमा हरेक वर्ष आन्तरिक राजस्व कार्यालयमा छुट्टै बुझाउनुपर्ने
अवस्था छ ।