धनगढी । प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी बनाउन सुझावसहितको प्रतिवेदन प्रदेश संसद् बैठकमा प्रस्तुत भएपछि धनगढीमा विरोध प्रदर्शन गरिएको छ । अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी बनाउनुपर्ने मागसहित धनगढीका बासिन्दाले संसद् भवन घेराउ गरेका हुन् । नाम र राजधानीको विषयमा बुधवार नेपाली काङ्ग्रेससहित धनगढीका वासिन्दा विरोध प्रदर्शनमा उत्रिएका छन् ।
मङ्गलवार संसद् बैठकमा प्रदेश नम्बर ७ को नाम र राजधानी तोक्न गठित विशेष सुझाव समितिका संयोजक तारालामा तामाङले प्रतिवेदन सार्वजनिक गरेकी थिइन् । सीमा नाका गौरीफण्टाबाट झण्डै २० किलोमिटर उत्तरमा तेघरीस्थित नेपाली सेना ब्यारेक क्षेत्रमा राजधानी राख्न गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको थियो । स्थायी राजधानी र नाम प्रदेश सांसदभन्दा सङ्घीय प्रतिनिधिसभाका सांसदको प्रभावमा तोकिएको भन्दै धनगढीलाई नै स्थायी राजधानी तोक्न धनगढीवासीले माग गरेका छन् ।
राजधानी र नामको विषयमा प्रदेशको प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले असहमति व्यक्त गरेको छ । कुल ५३ प्रदेशसभा सांसदमध्ये नेपाली काङ्गे्रसबाट १२, राष्ट्रिय जनता पार्टीबाट २ तथा नेपाल कम्युनिष्ट पाटी (नेकपा)बाट ३९ जना सांसद छन् । नाम र राजधानीको नाम नसच्याए बिहीवारदेखि अनिश्चित धनगढी बन्द आह्वानको घोषणासमेत गरिएको छ ।