असोज १३, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार ‘कर्णाली एयर’ नाममा आफ्नै एयरलाइन्स सञ्चालन गर्ने सोचमा रहेको बताएका छन् । साताव्यापी चीन भ्रमण सकेर प्रदेश राजधानी फर्कने क्रममा शनिवार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले कर्णालीमा आन्तरिक उडान र अन्तरप्रदेशीय उडानका लागि कम्तिमा दुईओटा विमान खरीद गर्ने योजना बनाएको जानकारी दिए ।
एयरलाइन्स सञ्चालनका लागि चीन सरकारसँग ऋण सहयोगका बारेमा गरिएको छलफल सकारात्मक भएको उनको भनाइ छ । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा विमानस्थल निर्माणका लागि पनि चिनियाँ प्रतिनिधिसँग छलफल भएको बताए । सुर्खेत विमानस्थल स्तरोन्नति र मदाने चौरमा प्रस्तावित क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि सहयोगको प्रतिवद्धता आएको उनको भनाइ छ ।
मुख्यमन्त्री शाहीले आफ्नो पहिलो चीन भ्रमण द्विपक्षीय हित र प्रदेशको विकासका लागि अन्तरराष्ट्रिय लगानीको वातावरण बनाउन उपलब्धीपूर्ण भएको बताए । हिल्सा–जमुनाहा द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न प्रारम्भिक सहमति भएको उनले बताए । ‘चीन सरकार मातहतको चाइना हाइवे कम्पनीसँग भएको उक्त समझदारीमा ‘फिजिबिलिटी’ अध्ययन र प्रारम्भिक सर्भे गरेर प्रतिवेदन प्रदेश सरकारलाई बुझाउछ,’ उनले भने, ‘केन्द्र सरकारसँग सम्झौता भएपछि यो द्रुतमार्ग निर्माणको काम अगाडी बढ्छ ।’
उनले हिल्सा–जमुनाहा द्रुतमार्ग कर्णालीको विकास र समृद्धिको मेरुदण्ड भएको जिकिर गरे । उनका अनुसार भ्रमणका क्रममा चिनियाँ पक्षसँग हिल्सा–जमुनाह फास्ट ट्रयाक निर्माणको लागि प्रारम्भिक समझदारी भएको छ । ‘हामीले कर्णालीमा लगानी गर्नका लागि प्रदेश सरकारले घोषणा गरेका कर मिनाह योजनाबारे पनि चीन सरकारलाई जानकारी गराएका छौं,’ उनले भने, ‘यसले चिनियाँ लगानीकर्ता भौगोलिक रुपमा विकट कर्णाली प्रदेशमा लगानी गर्न उत्साहित रहेको पाईयो ।’ उनका अनुसार कर्णाली प्रदेशको चीनसँग मात्र सीमा जोडिएकोले पनि लगानी भित्र्याउन सहज छ ।
उनले आफ्नो भ्रमण कर्णाली प्रदेशको विकासका लागि कोशेढुङ्गा सावित भएको बताए । चीन सरकार कर्णालीको विकासमा निकै इच्छुक रहेको र यो भ्रमणले सहयोगको वातावरण निर्माण गरेको उनको भनाइ थियो । ‘नेपालको संविधानअनुसार प्रदेश सरकारले अर्को देशसँग प्रत्यक्ष रुपमा कुनै पनि सहमति–सम्झौता गर्न मिल्दैन,’ उनले भने, ‘तर हामीले भ्रमणको क्रममा सङ्घीय सरकारमार्फत चीन सरकारलाई कर्णालीमा आउने प्रशस्त वातावरण बनाएका छौं ।’
चीन भ्रमणमा द्विदेशीय सिमा नाका ‘निर्माण, पर्यटन पूर्वाधारको विकास, जडीबुटी प्रशोधन, जलविद्युत् विकास लगायतका विषयमा छलफल भएको जानकारी दिए । चीनको सचुवान प्रान्तका गभर्नर यीनलीको निमन्त्रणमा मुख्यमन्त्री शाहीसहितको तीन सदस्यीय टोली असोज ३ गते त्यसतर्फ गएको थियो ।