नगरपालिकाको लगानीमा डिस्टिलरी उद्योग खुल्दै, रोजगारी दिन आफैं उद्योगमा लगानी गर्ने तयारी
Oct 3, 2018
 
बजार
असोज १७, रुकुम । तीन करोड लगानीमा आठविसकोटमा ‘कोडकिङ डिस्टलरी’ उद्योगको स्थापना हुने भएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका र निजी क्षेत्रको लगानीमा पेय पदार्थ उत्पादनको लागि ‘कोडकिङ डिस्टिलरी’ उद्योग सञ्चालन हुने भएको हो ।
फलफूल प्रशोधन गरी पेय पर्दाथ उत्पादन गर्ने उद्देश्यका साथ उद्योग सञ्चालनको तयारी गरेको नगर उपप्रमुख गिता नेपालीले जानकारी दिईन् । उनले भनिन, ‘आठविसकोटमा उत्पादन भएका फलफूल प्रशोधन गरी वाईन, जुस र पानी उत्पादनको लागि डिस्टिलरी सञ्चालनको तयारी भएको छ ।’
उद्योग स्थापनाको लागि काम शुरु भएको र आर्थिक वर्ष २०७५/७६ को अन्तिमसम्ममा पूर्ण रुपमा सञ्चालनमा आउने उद्योगका उपाध्यक्ष प्रेमबहादुर पुनले जानकारी दिएका छन् । उनले भने, ‘पहिलो चरणमा उद्योगको लागि आवश्यक पर्ने उपकरणहरु खरीद प्रक्रिया शुरु भइसकेको छ, कात्तिक महीनाभित्र भवन निर्माण र उपकरण जडान गरी जुस, वाईन र पानी उत्पादन गरिनेछ ।’
निजी क्षेत्रको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा स्थापना हुन लागेको डिस्टिलरी उद्योग आठविसकोट नगरपालिका १२ झिनचौरमा बन्न थालेको हो । नगरपालिका क्षेत्रभित्र उत्पादन हुने स्याउ, सुन्तला, कागती, अमिलो फलफूललगायतका जङ्गलमा खेर गएका बयर, गुलाफी ज्याम्नो, टिम्मुरलगायतका फलफूल प्रशोधन गरिने आठविसकोट नगरपालिकाका कार्यकारी अधिकृत रामबहादुर केसीले जानकारी दिएका छन् ।
उद्योग स्थापना भएपनि आठविसकोट नगरक्षेत्र भित्रका झण्डै ७ हजारभन्दा बढी मजदूरले रोजगारी पाउने नगरपालिकाले जानकारी दिएको छ । यसका साथै नगरपालिकाले प्लाईउड उद्योग पनि सञ्चालन गर्ने तयारी गरेको बताएको छ । नगरपालिकाले रोजगारी सिर्जना गर्न विभिन्न उद्योगहरु सञ्चान गर्ने तयारी गरेको जानकारी दिएको हो ।