ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हाइटेक टनेल प्रविधिमा दोब्बर आम्दानी

Oct 4, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । हाइटेक टनेल प्रविधि कृषकमाझ लोकप्रिय बन्दै गएको छ । व्यावसायिक तरकारी खेतीमा लागेका कृषक हाइटेक टनेलमा दोब्बर उत्पादन हुने अनुभव सुनाउँछन् । जलजला–८ का राजन सापकोटा, मोदी ५ वाजुङका लालबहादुर हरिजन, कुश्मा नगरपालिका २ खुर्कोटका युवराज शर्मा, फलेवास ३ का सूर्य लामिछानेलगायतले हाइटेक टनेलमा तरकारी फलाउँदा बढी उत्पादन भएको अनुभव सुनाउँछन् । ‘पहिले खुला टनेलमा वर्षको ३ लाखको तरकारी बेच्थेँ,’ जलजलाका राजन सापकोटाले भने, ‘अहिले विगत केही वर्षदेखि ५ देखि ६ लाखको बेच्न थालेको छु ।’ जलजलाका राजन सापकोटाको अनुभवमा हाइटेक प्रविधिका टनेलमा एउटा प्लाष्टिकले १० वर्ष काम गर्छ । टनेलको चारैतर्फ हरियो अर्धपारदर्शी प्लाष्टिकले बारिन्छ । जसका कारण बाहिरी कीराहरू टनेलभित्र पस्न पाउँदैनन् । भित्रको तापक्रम सन्तुलन रहन्छ । गर्मीमा हरियो प्लाष्टिक निकाल्नुपर्छ । जाडो सिजनमा ढाक्नुपर्छ । गाउँमा पहिलोपटक राजनले शुरू गरेको हाइटेक टनेल अहिले रामु सुवेदी, बाबुराम सुवेदी, शर्मिला क्षेत्रीलगायत थुप्रै किसानको बारीमा देख्न सकिन्छ । ‘हामीले साउनको भेलमा पनि रायोको साग विक्री ग¥यौं,’ रामु सुवेदीले भने, ‘सिजनमा १० रुपैयाँमा विक्री नहुने साग साउनमा प्रतिमुठा डेढ सयमा बेच्यौं ।’ हाइटेक टनेलभित्र विशेष गरी अचार खाने खुर्सानी, मूला, गाजर, रायो, बोडी, काँक्रा, करेला, लौका, घिरौंलालगायत तरकारी फलाउन सकिन्छ । मोदी ५ मा व्यावसायिक तरकारी उत्पादन गर्दै आएका लालबहादुर हरिजनले हाइटेक टनेलमा तरकारी लगाउँदा रोगकीराको सङ्क्रमण नहुने र सिँचाइका लागि पनि सहज हुने बताए । रोप्ने र गोड्ने समयमा भने ध्यान दिनुपर्ने उनी बताउँछन् । खुला आकाशमुनि लाग्ने रोगकीराको प्रकोप यस्तो टनेलमा ९० प्रतिशतभन्दा कम हुने भएकाले मल र सिँचाइमा ध्यान दिए पुग्ने उनले बताए । टनेलभित्र वर्षमा ३ देखि ४ सिजनसम्म तरकारी लगाउन सकिने किसानहरू बताउँछन् । एउटा टनेलभित्र सिँचाइ र मलखाद व्यवस्थापनसहित तरकारी लगाउन सके वर्षमा २ देखि साढे ३ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने किसानले बताएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले सामान्य टनेलभन्दा हाइटेक टनेलका फाइदा दोब्बर रहेको बताए । उनले भने, ‘हावामात्रै छिर्ने भएकाले यो टनेल सुरक्षित छ । बन्द हुने भएकाले रोगकीराको प्रवेश हुन पाउँदैन ।’ पर्वतमा साविकको कृषि विकास कार्यालयले करीब २ हजार किसानलाई हाइटेक टनेल वितरण गरेको रेग्मीले बताए । उनले पछिल्ला समय यस्ता टनेल स्थानीय तहले वितरण गर्दै आएको बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)