धनगढी । दशैंतिहारलाई लक्षित गरी कैलालीमा विशेष सुरक्षा योजना लागू गरिने भएको छ । यो योजनाको सबै तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जानकारी दिएको छ । दशैंतिहारका बेला जिल्लामा कुनै अप्रिय घटना हुन नदिन विशेष सुरक्षा योजना ल्याइएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी प्रमुख विनोद घिमिरेले बताए ।
विशेष सुरक्षा योजनाअन्तर्गत चोरी, ठगी, लुटपाट नियन्त्रण र यात्रुको सुरक्षामा ध्यान दिइने घिमिरेको भनाइ छ । चाडपर्वका लागि घर फर्कने नेपाली नागरिकको सहायताका लागि हेल्पडेस्क निर्माण गरिएको जानकारी उनले दिए । उनका अनुसार हेल्पडेस्कहरू त्रिनगर भन्सार, अत्तरिया बसपार्क र लम्कीमा राखिएका छन् ।
यसैगरी सुरक्षा अवस्था थप मजबूत बनाउन साइकल गस्ती, मोटरसाइकल गस्ती र मोबाइल गस्ती पनि गरिने भएको छ । चाडपर्वका बेला अप्रिय घटना गराउन सक्ने (प्रहरीको रेकर्डमा रहेका) व्यक्तिको खोजी पनि भइरहेको प्रहरी प्रमुख घिमिरेले बताए । ‘त्रिनगर भन्सारमा सुरक्षाका लागि तालीमप्राप्त दुईओटा कुकुरसहितको टोली पहिचालन गरिनेछ,’ उनले भने । सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले फोन नम्बर १००, १०४, ५२१०८६ लाई क्रियाशील बनाएको छ ।
चाडपर्वका बेला मादक पदार्थ सेवन र सवारी सञ्चालनसमेत व्यवस्थित गरिने सुरक्षा योजनामा उल्लेख छ । त्यस्तै, अत्तरिया–स्याउले–चिसापानी सडकमा चल्ने सवारीसाधनमा टाइमकार्ड प्रणाली लगाइएको र बसमा व्यापारिक सामान बोक्न निषेध गरिएको प्रहरीले बताएको छ । राजमार्ग, बजार क्षेत्र र जङ्गलमा सादा पोशाकका प्रहरी परिचालन गरी शान्ति सुरक्षा कायम गर्ने तयारीमा कैलाली प्रहरी जुटेको छ ।