रुकुम । ३ करोड लगानीमा आठबिसकोटमा ‘कोडकिङ डिष्टिलरी’ उद्योग स्थापना हुने भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र निजी क्षेत्रको लगानीमा पेय पदार्थ उत्पादनका लागि उक्त उद्योग स्थापना हुने भएको हो ।
फलफूल प्रशोधन गरी पेय पदार्थ उत्पादन गर्ने उद्देश्यले सो उद्योग सञ्चालनको तयारी भइरहेको नगर उपप्रमुख गीता नेपालीले जानकारी दिइन् ।
‘कोडकिङ डिष्टिलरी’ उद्योग स्थापनाका लागि काम शुरू भएको र आव २०७५/७६ को अन्तिमसम्ममा पूर्ण रूपमा सञ्चालनमा आउने ‘कोडकिङ डिष्टिलरी’ उद्योगका उपाध्यक्ष प्रेमबहादुर पुनले जानकारी दिएका छन् । ‘पहिलो चरणमा उद्योगका लागि आवश्यक उपकरण खरीद प्रक्रिया शुरू भइसकेको छ, कात्तिकभित्र भवन निर्माण र उपकरण जडान गरी जुस, वाइन तथा पानी उत्पादन गरिनेछ,’ उपाध्यक्ष पुनले भने ।
निजी क्षेत्रको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा स्थापना हुन थालेको उक्त उद्योग आठबिसकोट नगरपालिका १२ झिनचौरमा बन्न थालेको हो । आठबिसकोट नगरपालिका क्षेत्रभित्र उत्पादन हुने फलफूल स्याउ, सुन्तला, कागती, अमिलोलगायत जङ्गलमा खेर गएका बयर, गुलाफी ज्याम्नो, डिमुरलगायत फलफूल प्रशोधन गरिने आठबिसकोट नगरपालिकाका कार्यकारी अधिकृत रामबहादुर केसीले जानकारी दिएका छन् ।
उद्योग सञ्चालनमा आएपछि आठबिसकोट नगर क्षेत्रभित्रका झण्डै ७ हजारभन्दा बढी मजदुरले रोजगारी पाउने नगरपालिकाले जानकारी दिएको छ । यसका साथै आठबिसकोट नगरपालिकाले प्लाइउड उद्योग पनि सञ्चालन गर्ने तयारी गरेको जानकारी दिएको छ ।