रुकुम । रुकुमपूर्व भूमे गाउँपालिकाले एक आर्थिक वर्ष (आव)मा १२ किलोमिटरबराबर सडक र ८ ओटा आरसीसी पुल निर्माण गरेको छ । भूमे गाउँपालिकाको आव २०७४/७५ मा विनियोजित बजेटमध्ये सडकमा रू. २ करोड ६५ लाख र आरसीसी पुलमा ३५ लाख ४४ हजार रकम खर्च गरिएको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिए ।
आव २०७५/७६ मा अघिल्लो वर्षमा नपुगेको ठाउँमा र पुराना सडक मर्मतसहित थप योजनामा पनि कार्ययोजना तयार गरिएको अध्यक्ष बुढाले बताए ।
नयाँ सडकतर्फ वडा नम्बर १ को लुकुमदेखि रिका हुँदै रोल्पा थबाङसम्मका लागि रू. ८ लाख ५० हजार र आरसीसी पुलतर्फ वडा नम्बर २ खाबाङ र ७ नम्बर वडाको लाबाङ खुजिरीबाङका दुई आरसीसी पुलका लागि रकम विनियोजन गरिएको छ ।
अघिल्लो आवमा निर्माण भएका र निर्माणाधीन मोराबाङ सडकखण्डका लागि विनियोजित रकम २० लाखले १ किलोमिटर सडक खनिएको भूमे गाउँपालिकाका इञ्जिनीयर सन्तोष घर्तिमगरले बताएका छन् ।
त्यसैगरी सीमा, झुम्लाबाङ, क्याङ्सी, खाबाङ बगर सडकखण्डमा ६३ लाख रकम विनियोजित गरिएकोमा ५ सय मिटर, दोमोई, कोर्जा, चुनबाङ सडकखण्ड ५० लाख रकमले २ सय मिटर, बागटारे, गुनाम, मारिङ, त्रिवेणी काँक्री सडक खण्डमा साढे २५ लाख रकमले १ किलोमिटर ७ सय दशमलव ६८ मिटर, धर्मशाला, लाबाङ, भित्रिबन, सडक खण्डमा २३ लाख रकमले १ किलोमिटर ६ सय दशमलव ८५ मिटर, बालुवा धालिबाङ, सेराबाङ सडक खण्डमा साढे ३० लाख रकमले २ किलोमिटर ६ सय दशमलव ३४ मिटर खनिएको इञ्जिनीयर घर्तीमगरले जानकारी दिए ।
सेरोबाङ, धालिबाङ सडकखण्डका लागि १३ लाख रकमले १ किलोमिटर ३ सय दशमलव २ मिटर, गेर्खा उपलोसाकिमका लागि साढे ३ लाखले ४ सय ६६ मिटर, धर्मशाला, च्याङचुङ, चुनबाङ भेरिडाँडा गणतन्त्र सङ्ग्रहालय सडकका लागि १० लाख रकमले ९ सय मिटर, झुङलुङ, बलथुङ, भयरुथान, काँडा सडकखण्डमा १८ लाख रकमले १ किलोमिटर सडक खनिएको छ ।
पहाडी क्षेत्र तथा कडा खालका चट्टानका कारण सबै सडकखण्डका लागि विनियोजित बजेटअनुसार काम नभएको इञ्जिनीयर घर्तीमगरको भनाइ छ ।