अन्तरराष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता रौतहटमा
Oct 9, 2018
 
प्रदेश समाचार
रौतहट । अन्तरराष्ट्रिय स्तरको खुला बुद्धिचाल (चेस) प्रतियोगिता रौतहटमा सोमवारदेखि शुरू भएको छ । चन्द्रपुर–४ स्थित चन्द्रनिगाहपुरमा भइरहेको खेलमा नेपालसहित ५ देशका खेलाडी सहभागी भएका छन् ।
चन्द्रपुर नगरपालिकाको मुख्य प्रायोजन, गुजरा तथा वृन्दावन नगरपालिकाको सहप्रायोजन र रौतहट बुद्धिचाल (चेस) सङ्घको आयोजनामा उक्त प्रतियोगिता भएको हो । असोज २६ गतेसम्म हुने प्रतियोगितामा करीब १६ लाख २५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको सङ्घका अध्यक्ष रामचन्द्र दाहालले बताए । प्रतियोगिताका लागि विदेशबाट समेत खेलाडी आइसकेको उनले जानकारी दिए । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, मलेशिया, श्रीलङ्का तथा हङकङका खेलाडी सहभागी भएका छन् ।
प्रतियोगिताको सोमवार एक कार्यक्रमबीच चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीले उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा बोल्दै उनले यस्ता किसिमका खेल गतिविधिले नगरको प्रतिष्ठा बढ्ने बताए । कार्यक्रममा नेपाल बुद्धिचाल सङ्घका केन्द्रीय अध्यक्ष एकलाल श्रेष्ठले सानो स्थान र थोरै लगानीमा यो खेल खेलाउन सकिने भएकाले सरकारले यसको प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । प्रतियोगितामा प्रथम हुनेलाई ६० हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई ३० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।