कर्णाली प्रदेश : अनौपचारिक क्षेत्रका श्रमिकको कष्ट
Oct 14, 2018
 
प्रदेश समाचार
सुर्खेत । कर्णालीमा अनौपचारिक क्षेत्रका श्रमिकको स्थिति दिनानुदिन कष्टकर बन्दै गइरहेको छ । राज्यले अनौपचारिक क्षेत्रका श्रमिकलाई प्राथमिकतामा राख्न नसक्दा श्रम, आर्थिकसँगै शारीरिक शोषणका कारण ती श्रमिकको स्थिति कष्टकर बन्दै गइरहेको हो । देश सङ्घीय संरचनामा गए पनि कर्णालीका श्रमिकको अवस्था अहिले पनि माथि उठ्न सकेको छैन । कर्णालीका श्रमिकको न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्तिविकास, श्रमको उचित सम्मानलगायतमा राज्यले ध्यान नदिँदा कठिनाइ भइरहेको छ । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकमाथि हुने श्रम, आर्थिक, शारीरिक शोषण अति नै चर्को छ भने औपचारिक क्षेत्रमा काम गर्ने श्रमिक पनि न्यून तलब, सामाजिक सुरक्षा अभाव, अस्थायी, करार, वृत्तिविकासको अनिश्चितता, चर्को श्रम शोषणबाट मुक्त हुन नसकेको ट्रेड युनियनकर्मी बताउँछन् ।
सुर्खेतको वीरेन्द्रनगरमा बुधवार आयोजना गरिएको तीनदिने प्रदेशस्तरीय नेतृत्व विकास तालीमका सहभागीले हातपाखुरा चलुञ्जेल सेवामा रहने, केही गरी अशक्त भइहाले रित्तो हात निस्कनुपर्ने अवस्था रहेको बताए । सेवाबाट बाहिर निस्किएपछि उसका बालबच्चा, परिवारको सुरक्षण त परै जाओस्, उसको आफ्नै स्वास्थ्योपचार र जीविकोपार्जनमा समेत सङ्कट उत्पन्न हुने गरेको उनीहरू बताउँछन् । नेपाल ट्रेड युनियन महासङ्घ जिफण्टका कर्णाली प्रदेश अध्यक्ष तेजविक्रम जीसीले तुलनात्मक रूपमा औपचारिक क्षेत्रमा श्रमिकका अधिकार केही संरक्षित भए पनि अनौपचारिक क्षेत्रमा श्रमिकको न्यूनतम अधिकार पनि सुरक्षित नभएको बताए ।
नेपाल ट्रेड युनियन काङ्ग्रेसका निवर्तमान उपाध्यक्ष बमबहादुर डिसीले नेपालमा झण्डै साढे ७ दशकअघि शुरू भएको मजदूर आन्दोलनबाट नीतिगत रूपमा धेरै उपलब्धि भए पनि व्यावहारिक रूपमा कार्यान्वयन नभएको बताए । उनले भने, ‘सबैभन्दा बढी समस्या अनौपचारिक क्षेत्रमा काम गर्ने मजदूरले भोगेका छन्, अहिले पनि समान काम तर ज्यालामा विभेद छ, असाध्यै जोखीमयुक्त क्षेत्रमा काम गर्ने मजदूरलाई सुरक्षा व्यवस्था छैन, त्यहाँ काम गर्ने महिला मजदूरको अवस्था अझै दर्दनाक छ ।’
कर्णालीमा करीब ५ लाख बढी असङ्गठित क्षेत्रका श्रमिक रहेको अनुमान छ । तीन दिने नेतृत्व विकास तालीममा नेपाल वित्तीय कर्मचारी सङ्घ (नेपाल राष्ट्र बैङ्क) का विष्णु केसी, चर्चित जीवन रूपान्तरण प्रशिक्षक गेहेन्द्रप्रसाद दाहाल, यूएनआई नेपालका कार्यक्रम अधिकृत आलोक मल्ललगायतले प्रशिक्षण दिएका थिए ।