पर्वत । पर्वत र बागलुङका सर्वसाधारणले चन्दा सङ्कलन गरी मोदीबेनीमा वृद्धाश्रम निर्माण गरेका छन् । मोदी र कालीगण्डकी नदीको दोभान मोदीबेनीमा सुविधासम्पन्न वृद्धाश्रम निर्माण भएको हो ।
पर्वत र बागलुङको सामूहिक घाट मोदीबेनी क्षेत्रमा यसअघि पनि वृद्धाश्रम सञ्चालनमा थियो । पर्वततर्फको भागमा रहेको वृद्धाश्रमको भवन भूकम्पले भत्काएको थियो । २०६८ सालमा स्थानीयले आयोजना गरेको यज्ञबाट सङ्कलन भएको १७ लाख रुपैयाँबाट वृद्धाश्रम निर्माणको काम थालिएको ज्येष्ठ नागरिक आश्रम विकास समितिका सचिव कमलबहादुर जिसीले जानकारी दिए । ‘हामीले जग बसालेपछि सबैतिरबाट सहयोग आउन थाल्यो,’ जिसीले भने, ‘अहिले भवन ठडियो खुशी लागेको छ ।’ उनका अनुसार भवन पूरा गर्न ५७ लाख ३३ हजार ९ सय १५ रुपैयाँ खर्च भएको छ ।
भवनमा २४ ओटा कोठा रहेका छन् । सबै कोठामा कोठाभित्रै स्नान कक्ष र शौचालय व्यवस्था गरिएको छ । भजनकीर्तन गर्ने ठूलो कोठा, खाना पकाउने र खुवाउने अलग्गै कोठा बनाइएको छ ।
दिगो रूपमा आश्रम सञ्चालन गर्न समस्या भएपछि स्थानीयले गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)लाई गुहारेका छन् । खाना, औषधोपचार र थप पूर्वाधार विकासका लागि एनआरएनएलाई गुहारिएको मोदीबेनी क्षेत्र संरक्षण तथा धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष गोपालदास वैरागीले जानकारी दिए ।
एनआरएनएका अध्यक्ष भवन भट्टले हालै वृद्धाश्रम भवनको उद्घाटन गर्न आएको बेला स्थानीयले वृद्धाश्रम सञ्चालनमा सहयोग गर्ने बताए । अध्यक्ष भट्टले तत्कालका लागि व्यक्तिगत रूपमा ३ लाख रुपैयाँ अक्षयकोष स्थापनाका लागि सहयोग गरेका छन् भने अन्य पूर्वाधार विकासमा पनि निरन्तर रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।