ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशैंको टीकासँगै म्याग्दीका पर्यटकीय क्षेत्रमा चहलपहल

Oct 24, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । दशैंको टीका ग्रहण गरेसँगै म्याग्दीका पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ । जिल्ला सदरमुकाम बेनीबजारलगायत घोडेपानी, रुप्से झरना, पुनहिल, लभहिल (प्रणय शिखर) आदि पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको हो । म्याग्दी उद्योग वाणिज्य सङ्घको अगुवाइमा यस वर्षलाई ‘म्याग्दी भ्रमण वर्ष–२०७५’को रूपमा मनाउन शुरू गरिएकाले यहाँका पर्यटकीय क्षेत्रको भम्रणका लागि पर्यटकहरूलाई विदाको समयमा भ्रमण गर्न आह्वान गरिएको छ । हिमालपारिको जिल्ला मुस्ताङको प्रवेशद्वारको रूपमा रहेको म्याग्दीमा लामो तथा छोटो यात्राका पर्यटकीय स्थलमा सहज रूपमा पुग्न आवश्यक प्रबन्ध मिलाइएको भ्रमण वर्ष मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । ‘प्राकृतिक सुन्दरतामा म्याग्दीले अथाह सम्भावना बोकेको छ, यहाँ भ्रमणमा आउने पर्यटकलाई यातायात र खानामा विशेष छूटको व्यवस्थासमेत गरिएको छ,’ सङ्घका अध्यक्ष कर्माचार्यले भने । अहिले चाडपर्वको समयमा नयाँ ठाउँ घुमेर मनाउने संस्कारको विकास हुन थालेको भन्दै सङ्घले बेनीस्थित कालिपुलमा रहेको पर्यटक सूचना केन्द्रमा आवश्यक सूचना र परामर्शको समेत व्यवस्था गरेको छ । बेनी नगरपालिकासँगको सहकार्यमा पर्यटकको तथ्याङ्क राख्ने र धार्मिक तथा पर्यटकीय स्थलबारे जानकारी प्रदान गर्ने उद्देश्यले डिजिटल (विद्युतीय) सूचना केन्द्र सञ्चालनमा ल्याइएको हो । गत ३१ वैशाखमा औपचारिक रूपमा म्याग्दी भ्रमण वर्षको शुरुआत गरिएको थियो । सङ्घले स्थानीय तह र सम्बद्ध सरकारी निकायसँगको सहकार्यमा भ्रमण वर्षलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोगका लागि आह्वानसमेत गरेको छ । प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र पौराणिक महŒवका सम्पदाको पहिचान, संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटकको आगमन वृद्धि गर्न भ्रमण वर्षले सहयोग पुग्ने सङ्घका महासचिव लीलाराम गौतम बताउँछन् । पर्यटकीय स्थलको पहिचान गरी प्रचारप्रसार गर्ने र पूर्वाधार निर्माणमा सरकारी तथा निजी क्षेत्रको लगानी भिœयाउन पहल गर्ने भ्रमण वर्षको मुख्य उद्देश्य रहेको छ । दर्जनौं हिमाल, मनोरम भू–बनोट, कलासंस्कृति र ऐतिहासिक स्थलहरू रहेको म्याग्दी पर्यटन क्षेत्रमा अथाह सम्भावना बोकेको जिल्ला हो । संसारको सातौं अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर) अवस्थित म्याग्दीमा अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी, पुठा, बराह शिखरलगायत दर्जनौं हिमशृङ्खला रहेका छन् । यसका साथै अग्ला झरना, तालतलैया, धार्मिक र ऐतिहासिक सम्पदा रहेको म्याग्दीमा पर्यटकले लामो यात्रामा राउण्ड धौलागिरि, अन्नपूर्ण आधारशिविर, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला, धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी, पश्चिम धौलागिरिलगायत पदमार्गको भ्रमण गर्न सक्छन् । बेनी–जोमसोम सडकखण्डको प्रमुख आकर्षक स्थल मानिने रुप्से झरना र अन्धगल्छीको रमाइलोले अधिकांश पर्यटकलाई लोभ्याउने गरेको छ । घोडेपानीका होटल व्यवसायीका अनुसार यहाँ दैनिक ३ हजारभन्दा बढी पर्यटक आउने गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)