धनगढी । कैलालीको धनगढीमा रहेको त्रिनगर माध्यमिक विद्यालयमा आर्थिक अनियमितता भएको तथ्य बाहिरिएको छ । विद्यालयको सम्पत्तिमा विद्यालय प्रशासनले विभिन्न राजनीतिक आडमा चलखेल गर्ने गरेको पाइएको हो ।
टेण्डरविना सटर भाडामा लगाउनु, सूचना प्रकाशनविना नै कर्मचारी भर्ना गर्नु तथा कतिपय अवस्थामा सूचना प्रकाशन गरेर पनि कुनै कारणविना स्थगित गर्नु र विद्यालयको नाममा रहेको जग्गाको यकिन तथ्याङ्क विद्यालय व्यवस्थापन समितिलाई जानकारी नगराउनुजस्ता अनियमितता भएको पाइएको छ । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण तयार नगर्नुलगायत कारण विद्यालयमा आर्थिक अनियमितताले प्रश्रय पाइरहेको पुष्टि हुन्छ ।
विद्यालयमा कार्यरत सीमित व्यक्तिहरूको व्यक्तिगत स्वार्थका कारण विद्यालयको भविष्य नै अन्योलमा पर्न गएको भन्दै उक्त विद्यालयमा अध्ययनरत एउटा विद्यार्थी समूहले जिल्ला प्रशासन कार्यालय कैलालीमा मुद्दा दायरसमेत गरेको छ । विद्यालयको शपिङ कम्प्लेक्सअन्तर्गत ४० ओटा सटर भाडामा लगाइए पनि २ ओटा सटरको मात्रै टेण्डर गराइएको बुझिएको छ ।
विद्यालय व्यवस्थापन समितिले आय/व्ययको यथार्थ विवरण पटक–पटक माग गर्दा पनि विद्यालय प्रशासनले दिन नमानेको समितिकी अध्यक्ष जागृती बोगटीको गुनासो छ । ‘सुन्नमा आएको ३ बिगाहा १८ कठ्ठा हो, लालपूर्जा देखाइएको छैन,’ उनले भनिन् । धनगढीमा हाटबजार सञ्चालित जग्गा वनदेवी मन्दिरदेखि दक्षिणतर्फ १५ कठ्ठा ११ धूर जग्गाबापत जम्मा ३ लाख ७८ हजार रुपैयाँ मात्रै आम्दानी भएको विद्यालयको २०७३÷७४को आयव्यय विवरणले देखाएको छ । त्यस्तै, ४० ओटा सटर भाडाबापत उक्त अवधिमा २३ लाख १७ हजार रुपैयाँ मात्रै आम्दानी भएको उल्लेख छ ।
विद्यालयको जग्गा वर्षेनि अतिक्रमण र विक्रीवितरण हुने गरेको स्रोतको दाबी छ । १ हजारको हाराहारीमा अध्ययनरत विद्यार्थीको भविष्यमाथि खेलबाड हुने गरी विद्यालय प्रशासनमा राजनीति हावी छ । योग्यता र क्षमताको आधारमा भन्दा पहुँच र राजनीतिक आडमा कर्मचारी भर्ना निरन्तर चल्दै गएको धनगढीस्थित वैयाँबेहडीका कृष्ण साउदले गुनासो पोखे ।
विद्यालयको प्रधानाध्यापक बन्न निकै समय दौडधूप गरेका तत्कालीन निमित्त प्रअ गणेशदत्त भट्ट केही समय प्रअ भएपछि राजीनामा दिएका थिए । अहिले भूपालसिंह खड्का प्रधानाध्यापक छन् । व्यवसाय सँगसँगै स्वयम्सेविकाको काम गर्दै आएकी आफ्नी श्रीमतीलाई कक्षा ११ मा भर्ना गराएर प्रेम बिसी १ महीनापछि विद्यालयको अभिभावक सङ्घको अध्यक्ष बन्न सफल भए । बिसी तत्कालीन नेकपा एमाले, फोरम हुँदै हाल नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
विद्यालयका लेखापाल गणेश जोशीले पनि राजनीतिक आडमा विज्ञापनविना नै आफ्नी श्रीमतीलाई विद्यालयमा जागीर लगाएका छन् । शुरूमा महीनाको रू. ५ हजार दिने गरी जागीर लगाइएकोमा हाल रू. १२ हजारभन्दा बढी पुर्याइएको मात्रै छैन, रू. २० हजार पुर्याउन दबाब दिँदै आएका छन् ।
गत आर्थिक वर्ष २०७४/७५ मा विद्यालयको ८ कोठे भवन निर्माणका लागि आएको २४ लाख रुपैयाँ आपसी विवादका कारण फ्रिज भएको थियो । विद्यालयभित्रको आर्थिक अनियमितता र जग्गा अतिक्रमण रोक्न यसअघि धनगढीका स्थानीय सत्यराज पनेरूले अदालतमा मुद्दा नै दायर गरेका थिए ।