ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक हवाई सेवामा बढ्दो प्रतिस्पर्धा

Oct 29, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । विमान कम्पनी तथा विमानको सङ्ख्या बढ्दै जाँदा नेपालमा आन्तरिक हवाई उडान सेवामा प्रतिस्पर्धा बढ्दै गएको छ । सरकारी ध्वजाबाहक नेपाल वायुसेवा निगमसहित निजी विमान कम्पनीले विमान थप्दै विभिन्न रूटमा उडान बढाउँदै लगेपछि आन्तरिक उडानमा प्रतिस्पर्धा बढेको हो । विमान कम्पनीले नयाँ र धेरै सङ्ख्यामा यात्रु बोक्न सक्ने विमान थप्ने प्रतिस्पर्धामा देखिएका छन् । लामो समयदेखि नेपाली आकाशमा एकछत्र जस्तै आफ्नो व्यापार व्यवसाय गरेका बुद्ध र यती एयरले नयाँ एटीआर विमानमार्फत देशका विभिन्न गन्तव्यमा उडान गरिरहेका छन् भने नयाँ विमान कम्पनीका रूपमा आएको श्री एयर तथा सौर्य एयरले जेट विमानमार्फत आफ्नो बजार हिस्सा बढाउँदै लगेका छन् । आन्तरिक सेवामा कम मात्रै बजार हिस्सा आगटेको नेपाल वायुसेवा निगमले पछिल्लो समय चीनबाट ल्याइएका विमानमार्फत आन्तरिक उडानलाई विस्तार गरिरहेको छ । लामो समयसम्म पाइटल तथा पाटपूर्जालगायतका समस्याका कारण चिनियाँ विमान थन्क्याएको निगमले पछिल्लो समय पाइलट तथा आवश्यक पाटपुर्जाको व्यवस्था गरी दशैं अगाडि लुक्लाको तेञ्जिङ हिलारी, हुम्लाको सिमीकोट, डोल्पाको जुफाल, मुगुको ताल्चालगायत चारओटा विमानस्थलमा सफल उडान गरिसकेको छ । परीक्षण उडान सफल भएसँगै चिनियाँ विमानले नियमित उडान शुरू गर्ने तयारीमा छन् । निगमले चिनियाँ जहाजमार्फत स्टोल रूट र ट्रङ्क रूटमा व्यावसायिक उडान शुरू गर्न लागेको निगम स्रोतले जानकारी दिएको छ । निगमले आन्तरिक उडानको लागि नयाँ विमान किन्ने योजनासमेत अघि सारेको छ । विमान थप्ने योजनामा निजी कम्पनी आन्तरिक हवाई सेवामा प्रतिस्पर्र्धा र यात्रु सङ्ख्या वृद्धिसँगै निजी विमान कम्पनी नयाँ विमान थप्ने योजनामा छन् । बुद्ध एयरले एटीआर ७२ सिट क्षमताका जहाज ल्याउने तयारी गरेको छ । बुद्ध एयरसँग विमान मर्मतका लागि दक्षिण एशियाकै उत्कृष्ट दावी गरिएको ह्याङ्गरसमेत छ । सरकारी र निजीक्षेत्रबाट सेवा थप गर्दै जाँदा प्रतिस्पर्धा बढ्दै गएको र सोहीअनुरूप विमान थप्ने रणनीति अघि सार्ने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । उनले बुद्ध एयरले पर्यटक लक्षित ठाउँमा सेवा विस्तार गर्ने रणनीतिअनुरूप विमान थप गर्ने तथा सञ्चालन भइरहेको रूटमा एटीआरमार्फत उडान गर्ने बताए । बुद्धले तीनओटा नयाँ विमान थपेर व्यवसाय विस्तारलाई तीव्रता दिन लागेको हो । बुद्ध एयरसँग एटीआर (७२–५००) ६ ओटा, एटीआर (४२–३२०) तीनओटा र बिचक्राफ्ट (१९००डी) दुईओटा गरी ११ ओटा विमान छन् । यस्तै, यती एयरलायन्सले सन् २०१८ भित्रमै चारओटा विमान थप्ने योजना रहेको प्रवक्ता भीमराज राईले जानकारी दिए । नयाँ थपिने जहाजमा एटीआर ७२ दुईओटा र एटीआर ४२ दुईओटा रहने उनले बताए । पछिल्लो समय हवाई यात्रुको सङ्ख्या वृद्धि हुँदै गइरहेको सन्दर्भमा नयाँ जहाज थप्ने योजना अघि सारिएको उनले बताए । यती एयरलाइन्ससँग एटीआर तीनओटा र जेटस्ट्रिम ६ ओटा गरी नौओटा जहाज छन् । यस्तै, उसको सहायक कम्पनी तारा एयरसँग ड्रोनियर दुईओटा र ३०० सिरिजका ट्विनअटर दुईओटा र ४०० सिरिजका ट्विनअटर २ गरी ६ ओटा जहाज छन् । यस्तै, नेपाल वायु सेवा निगमले वाई १२ चारओटा, एम ६० दुईओटा र ट्विनअटर तीनओटा गरी नौ विमानले आन्तरिक उडानतर्फ सेवा दिइरहेको छ । यस्तै, श्री एयरले बमबार्डियर–२०० दुईओटा र सीआरजे—७०० सिरिजका दुईओटा गरी चारओटा विमानमार्फत सेवा दिइरहेको कर्पोरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिए । उनले पनि पछिल्लो समय आन्तरिक उडानमा प्रतिस्पर्धा बढेको र यसले यात्रुलाई फाइदा पुगेको बताए । यस्तै, श्री एयरले सीआरजे–२०० सिरिजका दुईओटा जेट विमानमार्फत आन्तरिक उडान गरिरहेको छ । विमान सेवा कम्पनीका अनुसार औसतमा ८० प्रतिशत अकुपेन्सी रहने गरेको छ । चाडपर्वको समयमा भने अकुपेन्सी करीब करीब ९०—९५ प्रतिशत पुग्ने गरेको छ । चाडपर्वको समयमा टिकट पाउनै मुश्किल हुने गर्दछ । यसले पनि विमान कम्पनीमा विमान थप्ने प्रतिस्पर्धा देखिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)