पर्वत । पर्वतको कुश्मा नगरपालिकामा सडक ओगटेर बनाइएका संरचना हटाएर फराकिलो बनाउन थालिएको छ । जिल्ला सदरमुकामसमेत रहेको कुश्मामा जनघनत्वसँगै सडक साँघुरो भएपछि फराकिलो बनाउन थालिएको हो ।
कुश्मा नगर कार्यपालिकाले नगरभित्र न्यूनतम ८ मिटर फराकिलो सडक बनाउने निर्णयअनुसार सडक मिचेर निर्माण गरिएका संरचना हटाउन थालिएको छ ।
‘कुश्मा बजारमा चक्रपथ बनाउने कार्यपालिकाको निर्णय छ,’ नगरप्रमुख रामचन्द्र जोशीले भने, ‘त्यसका लागि सडकको अवरोध हटाउन शुरू गरेका हौं ।’ उनले सडक मिचेर बनेका घर, चौतारा, मन्दिर, पार्कहरू भत्काउन थालेको जानकारी दिए । जनघनत्व बढेसँगै कुश्माका सडकहरू व्यस्त बन्न थालेका छन् । यहाँका पर्यटकीय स्थलहरूमा आउनेको सङ्ख्या पनि बढ्दै गएको छ । त्यही भएर सडकलाई फराकिलो बनाएर स्तरोन्नति गर्न थालिएको नगरप्रमुख जोशीले बताए ।
अघिल्लो वर्षबाटै नगरको सडक न्यूनतम मापदण्डको बनाउने योजनाअनुसार सडक विस्तार गर्न थालिएको उनले जानकारी दिए । नगरपालिकाले बौद्ध गुम्वा, यान्त्रिक पुल परिसर, कल्लेरी हुँदै मेलमिलाप चोकसम्मको सडक भत्काइरहेको छ । यो सडक भत्काएर पक्की बनाइने भएको छ ।
नगरपालिकाले विनासूचना सडक भत्काउन थालेको भन्दै स्थानीय आक्रोशित छन् । यद्यपि, नगरपालिकाका सूचना अधिकारी लालप्रसाद शर्माले भने केही दिनअघि ठाउँठाउँमा सूचना टाँस गरेर मात्रै काम शुरू गरेको बताए ।