ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घरछेउमै प्राविधिक शिक्षा पढ्दै विद्यार्थी

Nov 1, 2018  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
रुकुम । कुनै बेला प्राविधिक शिक्षा पढ्न नेपालगञ्ज, काठमाडौं र पोखरा पुग्ने रुकुमेली विद्यार्थीले घरछेउमै प्राविधिक शिक्षा पढ्न पाएका छन् । रुकुमका सामुदायिक विद्यालयले घर गाउँकै प्राविधिक शिक्षा पढाउन थालेपछि विद्यार्थीलाई सहज भएको छ । मुसीकोट नगरपालिका–१, की करुणा पाण्डेले त्रिभुवन जनता माध्यमिक विद्यालयमा सिभिल ओभरसियरको पठनपाठन थालेकी छन् । विद्यालयले यसै वर्षदेखि शुरू गरेको सिभिलतर्फको तीनवर्षे कोर्स अध्ययन गर्न पाण्डे घरबाटै आउने जाने गरेकी छिन् । त्यस्तै, सानीभेरी गाउँपालिका–९, की पार्वती खड्का पनि घर नजीकैको राप्ती ज्ञानोदय माध्यमिक विद्यालयले यसै वर्षदेखि शुरू गरेको बाली विज्ञानअन्तर्गत १८ महीने कोर्स अध्ययनका लागि भर्ना भएकी छन् । सिम्लीका वीरभान भण्डारीले पनि राप्ती ज्ञानोदयमै बाली विज्ञानको पढाइ शुरू गरेका छन् । उनीहरू मात्रै होइन, यो वर्ष जिल्लाका २ सय ४८ विद्यार्थीले विभिन्न सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गदै छन् । प्राविधिक शिक्षालाई सबैको पहुँचमा पु¥याउने गरी गाउँ गाउँका सामुदायिक विद्यालयले विभिन्न विषयका पठनपाठन थालेका छन् । यसै वर्षदेखि जिल्लाका पाँच सामुदायिक विद्यालयले प्राविधिक शिक्षा शुरू गरेका हुन् । मुसीकोट नगरपालिकाको त्रिभुवन जनता मावि, बाँफिकोट गाउँपालिकाको वीरेन्द्र मावि, सानीभेरी गाउँपालिकाको राप्ती ज्ञानोदय माविले प्राविधिक शिक्षा शुरू गरेको छ । त्यसैगरी त्रिवेणी गाउँपालिकाको त्रिवेणी मावि र जनप्रिय माविले पनि प्राविधिक शिक्षामा भर्ना शुरू गरेका छन् । सामुदायिक विद्यालयले सिभिल ओभरसियर, कम्प्युटर इञ्जिनीयर, बाली तथा पशु विज्ञानको पठनपाठन शुरू गरेका हुन् । केही विद्यालयमा भर्ना चलिरहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को अनुमतिपत्र लिएर अध्यापनको व्यवस्था मिलाइएको हो । त्रिभुवन जनता माविले सिभिल ओभरसियरको पठनपाठन शुरू गरिसकेको छ । उक्त कोर्समा ४८ विद्यार्थीले अध्ययन थालेका छन् । वीरेन्द्र माविले कम्प्युटर इञ्जिनीयरका लागि ४० जना भर्ना लिइरहेको छ । त्रिवेणीमा तीनवर्षे बालीविज्ञान, जनप्रिय माविले १८ महीने बालीविज्ञान, राप्ती ज्ञानोदय माविले पशु र बाली विज्ञानतर्फका १८/१८ महीनाको कोर्स अध्यापनका लागि भर्ना लिइरहेका छन् । सबै कोर्षमा ४० जनाको कोटा कायम गरिएको छ । केही विद्यालयले प्राविधिक शिक्षातर्फ यसअघि नै पठनपाठन शुरू गरिसकेका छन्, जसमा मेहन्द्र मावि छिवाङ र प्रभात मावि छिवाङले कृषि जेटीए पढाइरहेका छन् । पछिल्लो समय रुकुम पश्चिममा मात्रै करीब ४ सय हाराहारीमा प्राविधिक जनशक्ति उत्पादन हुने गरेको जिल्ला शिक्षा समन्वय विकास एकाइ प्रमुख लालबहादुर घर्तीका अनुसार वर्षमा करीब ४ सय विद्यार्थी प्राविधिक शिक्षा पढ्ने गरेको बताए । ‘घरगाउँमै प्राविधिक शिक्षा पठनपाठन हुने भएपछि विद्यार्थीलाई सहज भएको हो,’ उनले भने, ‘पछिल्लो समय प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षणसमेत बढेको छ ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)