ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुइसे र घोडेपानी पर्यटकीय गन्तव्यमा सूचीकृत

Nov 6, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

कात्तिक २०, म्याग्दी । सरकारले म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा पर्ने रुइसे र अन्नपूर्ण गाउँपालिका ६ स्थित घोडेपानीलाई नयाँ पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गत बिहीवार घोषणा गरेको एक सय ओटा नयाँ पर्यटकीय गन्तव्यमा रुइसे सूचीकृत भएपछि स्थानीयवासी र सरोकारवालाहरु उत्साहित भएका छन् । ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्न सरकारले घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्यमा रुइसेडाँडादेखि धौलागिरी आइसफल क्षेत्र समेटिएको हो ।

नयाँ तथा विकास गर्नुपर्ने नयाँ पर्यटकीय गन्तव्यको सूचीमा रुइसे हुँदै धौलागिरी आईसफल क्षेत्र समेटिनुले यस क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

रुइसे हुँदै धोलागिरी आईसफलसँगै सरकारले म्याग्दीकै घोडेपानी पर्यटकीय क्षेत्रलाई समेत नयाँ गन्तव्यको सूचीमा राखेको छ भने पुनहिल, गलेश्वर र तातोपानीलाई स्थापित तथा प्रवर्द्धन गर्नुपर्न गन्तव्यको सूचीमा राखेको छ ।

रघुगंगा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ७ को सिमा क्षेत्र समेटिएको रुइसेदेखि धौलागिरी आईसफल क्षेत्र धौलागिरी र अन्नपूर्ण रेञ्जका हिमालहरुको अवलोकनका लागि उत्तम मानिन्छ भने यो म्याग्दीबाट मुस्ताङ निस्कने वैकल्पिक नयाँ पदमार्ग समेत हो । धौलागिरी आइसफल पदमार्गको प्रवेशद्वारको रुपमा रहेको रुइसेमा रघुगंगा गाउँपालिकाले भ्युटावर निर्माण शुरु गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्य अनुसार मन्त्रीस्तरको निर्णयबाट छनौट गरिएका एक सय नयाँ पर्यटकीय गन्तव्यहरु नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित भएको मध्ये मन्त्रालयले विभिन्न आधार तयार गरी छनौट गरेको हो ।

‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तव्यको प्रवर्द्धन र विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न शुरुवात गर्नेछ । नयाँ गन्तव्य प्रवर्द्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)