पर्वत । ६ वर्षदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आएकी कुश्मा–१ पाङकी हेमकला पुनलाई २ वर्षयता धेरै सजिलो भएको छ । खुर्कोटका भैंसीपालक किसान हेमनाथ चापागाईंलाई अघिल्लो वर्ष घरमै पशु प्राविधिक पुगेर अनुदानको फारम भरिदिए । घरमै पुगेर प्राविधिकले मूल्याङ्कन गरेपछि फलेवास–३ की तुलसी सापकोटा भैंसी र गोरुको बीमाका लागि कार्यालय धाउनुपरेन ।
स्थानीय तह कार्यान्वयनपछि कृषि र पशुमा एक गाउँ, एक प्राविधिक खटिएपछि गाउँका धेरै किसानले लाभ लिएका छन् । बेमौसमी तरकारी तथा पशुपक्षी पालनमा धेरै सजिलो भएको किसानले बताएका छन् । ‘पहिला बङ्गुर बिरामी हुँदा पशुचिकित्सक ल्याउन कुश्मा जानुपथ्र्यो,’ पाङकी हेमकला पुनले भनिन्, ‘अहिले धेरै सजिलो भएको छ । प्राविधिक दिनैपिच्छे घरकै बाटो हिँड्नुहुन्छ । सामान्य समस्या हुँदा पनि घरबाटै समाधान भएको छ । औषधिउपचार गर्न बाहिर कतै जानुपरेको छैन ।’ औषधोपचारदेखि अनुदान सहयोग समेत घरमै पाउँदा आफूहरू लाभान्वित भएको उनले बताइन् ।
व्यावसायिक पशुपालकलाई मात्रै नभएर तरकारी तथा नगदे बाली लगाएका किसानलाई पनि अहिले घरघरमै प्राविधिक पुगेर सहयोग गर्न थालेका छन् । ‘पहिला सदरमुकाममै जाँदा पनि प्राविधिक भेटिन्थेन,’ जलजला–८ का रामप्रसाद सुवेदीले भने, ‘अहिले घरघरै प्राविधिक आएर सोध्छन् । तरकारीमा समस्या देखिए घरमै विषादी ल्याइदिन्छन् । खेतीपातीमा धेरै सजिलो भएको छ ।’
पैयुँ गाउँपालिकामा कार्यरत कृषि प्राविधिक सन्दीप तिवारी दैनिक १० देखि १५ जना किसानका घर पुग्छन् । गतवर्ष गाउँपालिकाले करारमा नियुक्ति गरेका उनको दिनचर्या हरेक दिन गाउँमा पुगेर किसानका समस्या बटुल्ने हुन्छ । ‘हरेक किसानका सानातिना समस्या बटुल्छौं,’ पैयुँका अध्यक्ष खगेन्द्र तिवारीले भने, ‘महीनाभरका समस्या कार्यपालिकाको बैठकमा राखेर सम्बोधन गर्ने गरिएको छ ।’ किसानलाई उनीहरूको घरदैलोमै पुगेर आर्थिक, प्राविधिक सहयोग तथा अन्य परामर्श दिने गरिएको उनले बताए । किसानलाई आर्थिक अभावले व्यवसाय विस्तारमा समस्या हुँदा सम्बन्धित उपकरण वा वस्तु गाउँपालिकाले खरीद गरिदिएको गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले जानकारी दिए ।
पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकाका ६१ ओटै वडामा पशु तथा कृषि प्राविधिक खटिएका छन् । त्यसबाहेक हरेक गाउँपालिकामा अधिकृत स्तरका पशु चिकित्सकको व्यवस्था छ । कुश्मा नगरपालिकामा उपसचिव तहको वरिष्ठ पशु चिकित्सकको व्यवस्था छ । कतिपय गाउँपालिकाले किसानको सुविधाका लागि मासिक पशु स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । ‘अघिल्लो आर्थिक वर्षमा चारपटक पशु शिविर चलाइयो,’ जलजलाका पशु चिकित्सक विमल शर्मा पौडेलले भने, ‘बिरामी पशु लिएर उपचारमा आउन किसानलाई समस्या हुन्छ । शिविर चलाउँदा घरघरै उपचार पाएका छन् ।’ किसानलाई पशुको उपचारका साथै परामर्शसमेत दिइएको उनले बताए । घरघरै शिविर चलाउँदा प्राविधिकहरूले पशुलाई नियमित खोप, भिटामिनका साथै माटे तथा जुकाको औषधि खुवाउने तालिकालगायतको जानकारी दिँदै आएका छन् ।