धनगढी । कर्णाली नदीबाट ६ सय ८८ मेगावाट विद्युत् उत्पादनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम भइरहेको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेडले बताएको छ । कम्पनीले सर्वेक्षण अनुमति प्राप्त गरेपछि डीपीआरको काम अघि बढेको हो ।
८० अर्ब लागत अनुमान गरिएको अर्धजलाशय आयोजनाको ५ वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी कर्मचारी सञ्चय कोषले लगानी गर्नेछ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछाम र कर्णाली प्रदेशको सुर्खेत गरी उक्त आयोजनाले बराबरी भूभाग ओगट्ने कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले बताए ।
२ वर्षभित्रै विस्तृत आयोजना प्रतिवेदन (डीपीआर), सर्वेक्षण तथा वातावरणीय प्रभाव मूल्याङ्कनको काम सम्पन्न हुने गरी प्रक्रिया अघि बढाएको कम्पनीका प्रमुख श्रीराम शेखरले जानकारी गराए । कर्मचारी सञ्चय कोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको ४० प्रतिशत लगानी रहनेछ । ‘आयोजनामा सञ्चयकर्तालाई कुल लगानीको ४० प्रतिशत शेयर दिइनेछ भने कोष आफैंले १५ प्रतिशत सेयर राख्नेछ,’ श्रेष्ठले भने ।
नेपाल विद्युत् प्राधिकरणलाई १५ प्रतिशत, जलविद्युत् उत्पादन कम्पनीलाई १० प्रतिशत, स्थानीयवासीलाई १० र आम नागरिकलाई १५ प्रतिशत शेयर दिने गरी कम्पनीको शेयर संरचना तयार गरिएको छ । आयोजना निर्माणका लागि पहिलो चरणमा रू. २० अर्ब अधिकृत पूँजी राखेर कोषले आयोजना अगाडि बढाउने योजना बनाएको छ । आयोजना निर्माणले पूर्णता पाए दुवै प्रदेशको औद्योगिक विकासमा ठूलो मद्दत पुग्ने नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शङ्कर बोगटीले बताए ।