ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नाफा बढाउँदै बीमा कम्पनी

Nov 18, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मल्लिका घिमिरे
काठमाडौं । बीमा कम्पनीहरूले गत आवको तुलनामा चालू आवमा खुद बीमाशुल्क आर्जन र नाफामा उल्लेख्य वृद्धि गरेका छन् । जीवन बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन गत आव पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २० दशमलव ७९ प्रतिशत बढेको छ भने नाफा ८ प्रतिशत बढेको छ । त्यसैगरी निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन गत आवको तुलनामा १७ दशमलव ७१ प्रतिशत बढेको छ भने नाफा करीब २७ प्रतिशत बढेको छ । हालसम्म प्रकाशित सम्बन्धित कम्पनीहरूको त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन बढेपछि नाफा बढ्न पुगेको हो । सातओटा जीवन बीमा कम्पनीमध्ये हालसम्म ६ ओटा कम्पनीले पहिलो त्रैमासिक वित्तीय विवरण निकालिसकेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भने हालसम्म वित्तीय विवरण सार्वजनिक गरेको छैन । साथै, १६ ओटा निर्जीवन बीमा कम्पनीमध्ये १४ ओटाले वित्तीय विवरण प्रकाशित गरेका छन् । सगरमाथा इन्स्योरेन्स र एनबी इन्स्योरेन्सको भने पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छैन । जीवन बीमा कम्पनीले गत आवमा रू. ५ अर्ब ३४ करोड बीमाशुल्क आर्जन गरेका थिए भने चालू आवमा रू. ६ अर्ब ४६ करोड आर्जन गरेका छन् । कम्पनीहरूले गत आवमा रू. २८ करोड ३७ लाख आर्जन गरेको थिए भने नाफा चालू आवमा रू. ३० करोड आर्जन गरेका छन् । सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कर्पोरेशनले रू. २ अर्ब ९० करोड बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको सो रकम गत आवको तुलनामा ३० प्रतिशत बढेको हो । त्यसैगरी पहिलो त्रैमासमा सूर्या लाइफ इन्स्योरेन्सको नाफा रू. ६ करोड ३२ लाख सबैभन्दा बढी नाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत आवको तुलनामा २१ प्रतिशत बढेको हो । जीवन बीमा कम्पनीमध्ये गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको नाफा गत आवको तुलनामा ८ दशमलव ५३ प्रतिशत घटेको छ । बीमा कम्पनीले बीमितको जोखीम ग्रहण गरेपाबत बीमितसँग जोखीमअनुरूप रकम लिनुलाई नै बीमाशुल्क भनिन्छ । निर्जीवन बीमा कम्पनीको बीमाशुल्क निर्धारण गर्दा विगतमा बीमा कम्पनीमा परेका दाबीका आधारमा भविष्यका लागि व्यवस्थापकीय खर्च तथा मुनाफाको सम्भावना विश्लेषण गरेर क्षेत्रगत रूपमा बीमाको प्रकृतिअनुसार बीमाशुल्क तयार पार्ने गरिन्छ ।

निर्जीवन बीमा कम्पनी पहिलो त्रैमासिक विवरण हेर्दा बीमाशुल्क बढाउँदै जाने निर्जीवन बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । पहिलो त्रैमासिक वित्तीय विवरण हेर्दा निर्जीवन बीमा कम्पनीको नाफासमेत बढेको छ भने बीमितको सङ्ख्यामा पनि वृद्धि भएको विवरणले देखाउँछ । गत आवमा उक्त कम्पनीहरूले रू. ४ अर्ब ६८ करोड बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा रू. ५ अर्ब ५१ करोड आर्जन गरेका छन् । बीमाशुल्क आर्जन बढेसँगै कम्पनीको नाफा पनि बढेको छ । कम्पनीले गत आवमा रू. ४६ करोड नाफा कमाएका थिए भने चालू आवमा रू. ५८ करोड ५६ लाख कमाउन सफल भएका छन् । पहिलो त्रैमासमा सबैभन्दा बढी प्रिमियर इन्स्योरेन्सले गत आवको तुलनामा नाफा ९४ प्रतिशत बढाएको छ । कम्पनीको नाफा गत आवमा रू. २ करोड १२ लाख थियो भने चालू आवमा रू. ४ करोड १२ लाख छ । युनाइटेड इन्स्योरेन्स कम्पनीको नाफा गत आवको तुलनामा २४ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको नाफा रू. १ करोड ४७ लाख थियो भने चालू आवमा रू. १ करोड ११ लाखमा सीमित भएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)