ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हजारौं घरपरिवारलाई लालपुर्जा वितरण गर्ने तयारी

Nov 20, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका हजारौं घरपरिवारलाई लालपुर्जा वितरण गर्न आवश्यक तयारी थालिएको छ । साविकको नेपाल पुनर्वास कम्पनीले वितरण गरी बाँकी रहेका जग्गाहरू भोगचलन गर्दै आएका अव्यवस्थित स्थानीयलाई व्यवस्थित गर्न लालपुर्जा वितरण गर्ने तयारी अघि बढाएको राष्ट्रिय आवास कम्पनी लिमिटेडले आइतवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । व्यवस्थित गर्ने क्रममा कम्पनी सञ्चालक समितिले फुटकर जग्गा विक्रीवितरण सम्बन्धी विनियमावली २०६९ मा दोस्रो संशोधन गर्नुपर्ने देखिएको थियो । मस्यौदा स्वीकृतिका लागि शहरी विकास मन्त्रालयमा पेश गरी मन्त्रालयबाट परिमार्जनसहित मन्त्रिपरिषद्बाट गत भदौ ३१ गते दोस्रो संशोधन स्वीकृति भएको थियो, जसले लालपुर्जा वितरण कार्य अघि बढाउने बाटो खुलेको कम्पनीका अध्यक्ष मोहन चौधरीले बताए । कम्पनीका अनुसार कञ्चनपुरको त्रिभुवनवस्ती क्षेत्रमा ३ सय ४४, परासन क्षेत्रमा ५ सय ७०, वाइसी विछवामा २० बिगाहा गरी कुल ९ सय ३६ बिगाहा १८ धुर जग्गामा बसोबास गर्दै आएका घरपरिवारलाई लालपुर्जा वितरण गर्न आवश्यक तयारी अघि बढाइएको कायममुकायम योजना प्रमुख कर्मजीत राइले जानकारी गराए । उनका अनुसार कैलालीको जुगेडा क्षेत्रमा बसोबास गर्दै आएका ४ सय घरपरिवारलाई लालपुर्जा उपलब्ध गराउने तयारी भइरहेको बताए । जग्गा उपलब्ध गराउँदा भोगकर्तालाई मालपोतको न्यूनतम शुल्क लाग्नेछ भने भूमिहीन, सुकुमवासी तथा विपन्न परिवारका सदस्यलाई मालपोत रजिष्ट्रेशन प्रयोजनका लागि कायम गरिएको न्यूनतम मूल्यमा २५ देखि ७५ प्रतिशतसम्म छूटको प्रावधान रहेको बताइएको छ । जग्गा विक्रीबाट उठेको रकमको २० प्रतिशत रकम सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको सिफारिशमा सम्वन्धित क्षेत्रमा विकास निर्माणमा लगाइने प्रावधानसमेत रहेको कम्पनी सचिव अश्विनी खड्काले बताए । योजना कार्यालय कञ्चनपुरअन्तर्गत पुनर्वास नगरपालिकाभित्र २ हजार परिवार तथा कैलालीको धनगढी उपमहानगरपालिकाभित्र करीब ४ सय परिवारले जग्गाको स्वामित्व प्राप्त गर्ने देखिन्छ । केही कुरामा आवश्यक समन्वय र बुझाइमा समस्या देखिएकाले स्थानीय तहबाट जनता व्यवस्थित हुने कार्य छिटै सम्पन्न हुने अध्यक्ष चौधरीले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)