ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आधा मूल्यमा सख्खर उद्योगलाई उखु बेच्दै किसान

Nov 20, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

मङ्सिर ४, रौतहट । रौतहटका विभिन्न स्थानमा रहेका सख्खर उद्योगलाई किसानले उखु विक्री गरिरहेका छन् । गत वर्षको मूल्यभन्दा आधा कम मूल्यमा उनीहरुले सख्खर उद्योगलाई उखु विक्री गरेका हुन् ।

गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विण्टल ५ सय ३१ रुपैयाँँ तोकेको थियो । तर निर्वाचनपछि केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि उखुको मूल्यलाई पुनर्मूल्याङ्कन गर्दै ५ रुपैयाँ थपेर प्रतिक्विण्टल ५ सय ३६ रुपैयाँँ पुर्‍याएको थियो । तर अहिले सख्खर उद्योगसँग किसानले प्रतिक्विण्टल २ सय ५० देखि २ सय ७५ रुपैयाँसम्म बेच्न बाध्य भएका छन् ।

विभिन्न स्थानमा सञ्चालित एक दर्जभन्दा बढी सख्खर उद्योगले उखु किसानलाई उचित मूल्य नदिएपछि गत वर्षको सरकारी मूल्यभन्दा कम मूल्यमा उखु विक्री गर्न बाध्य भएका हुन् । कात्तिकको पहिलो हप्तादेखि नै उखु किसानले सख्खर उधोगलाई उखु विक्री गरेको उखु किसान रामशंकर राय यादवले बताए । उखु विक्री गरेपछि तत्काल रकम आउने भएकाले सस्तोमा भएपनि सख्खर उद्योगलाई उखु विक्री गरेको उनले बताए । समयमा उखु काटेर विक्री गर्दा नयाँ बाली लगाउन पाइने उनको भनाइ छ ।

गढिमाई नगरपालिकास्थित सुन्दरपुरमा एक दर्जनभन्दा बढी सख्खर उधोगहरु सञ्चालित छन् । किसानले समयमा नै भुक्तानी लिनका लागि सख्खर उधोगलाई उखु दिने गरेको रौतहट उखु उत्पादक सङ्घका अध्यक्ष अशोक यादवले बताए । श्रीराम सुगर मिलले भुक्तानीमा ढिलाइ गर्ने गरेकाले पनि किसान निराश बनेको उनको भनाइ छ । श्रीराम सुगर मिल्सका फाईनान्स मेनेजर एन.के. गुप्ताका अनुसार किसानलाई मिलले करीव १५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । गतवर्षका पुरानो रकम १२ करोड र त्यसपछिको ३ करोड रुपैयाँ रहेको जानकारी दिँदै उनले अहिले भुक्तानी भइरहेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)