सुर्खेत । कर्णाली प्रदेशको पञ्चवर्षीय योजना चालू आर्थिक वर्षमै बन्ने भएको छ । मुख्यमन्त्री तथा प्रदेश योजना आयोगका अध्यक्ष महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आइतवार वीरेन्द्रनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
आयोगको प्रथम बैठकमा आर्थिक वर्ष २०७६/७७को वार्षिक नीति तथा कार्यक्रम एवम् बजेट तथा योजना तयारीका लागि सघाउ पुग्ने गरी वार्षिक योजना तयार गर्ने निर्णय पनि गरिएको सदस्यसचिव तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । उनका अनुसार चालू आवको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमन मूल्यांकन निर्देशिका तयार गरी प्रभावकारी अनुगमनको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।
बैठकले परियोजना बैंक तयार गर्ने, कर्णाली प्रदेशको दीर्घकालीन गुरुयोजना तयार गर्ने, कर्णाली प्रदेशको वास्तविक अवस्था पहिचान सहितको तथ्यांक, सूचकांक र प्रारूप तयार गर्ने लगायतका निर्णय गरेको उनले बताए । आयोगको कामलाई प्रभावकारी बनाउन आवश्यक कार्ययोजना र कार्यतालिका तयार गरी आगामी बैठकमा पेश गर्ने निर्णय समेत भएको उनले जानकारी दिए ।
आइतवार नै आयोगका पदाधिकारीहरूले शपथ ग्रहण गरेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा मुख्यमन्त्री शाहीले आयोगका उपाध्यक्ष पुण्य रेग्मीलाई शपथ गराएका थिए ।