पर्वत । पर्वतको फलेवास–४, मुडिकुवामा सञ्चालित प्राविधिक शिक्षालय माटेदेवल माविमा प्राविधिक उपकरण र जमीनको अभावमा पठनपाठनमा समस्या भएको छ । बाली विज्ञान पढाइ हुँदै आएको विद्यालयमा अहिले ९१ जना विद्यार्थी अध्ययनरत छन् । जिल्लाकै नमूना प्राविधिक शिक्षालयमा पर्वतका मात्रै नभई बागलुङ, म्याग्दी, गुल्मी, स्याङ्जाका विद्यार्थीहरू पनि पढ्दै आएका छन् । सुगम ठाउँमा भए पनि विद्यालयका समस्या अनेक छन् ।
विद्यार्थीलाई ६० प्रतिशत सैद्धान्तिक र ४० प्रतिशत व्यावहारिक पठनपाठन हुनुपर्छ । विद्यालयका प्राविधिक विषय इञ्चार्ज लालबहादुर क्षत्रीका अनुसार कृषितर्फको पढाइ हुने भएकोले विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउन सिँचाइयुक्त खेतबारी आवश्यक हुन्छ । तर, विद्यालयको प्राङ्गणमा उपयुक्त जमीन नहुँदा अध्यापनमा समस्या छ ।
अध्यापनका लागि बाहै्र महीना तापक्रम सन्तुलन राख्ने ग्रिन हाउस (हरितगृह) पनि अभावन छ । विज्ञानका धेरैजसो विषयको प्रयोगात्मक अभ्यासका लागि प्रयोगशालामा आवश्यक उपकरण छैनन् । कक्षा ९ मा अनिवार्य कम्प्यूटर विषय पढाउन कम्प्यूटर पर्याप्त छैनन् । ‘विद्यालयमा प्राविधिक उपकरण पाउन निकै समस्या छ । माग गरेको बेलामा आउँदैन, आएका उपकरण विद्यार्थीलाई पर्याप्त हुँदैन,’ क्षत्रीले भने ।
प्राविधिक उपकरण र प्रयोगात्मक अभ्यासस्थलको अभावले विद्यार्थीले पनि मन लागेको कुरा खुल्ला भएर सिक्न नपाएको बताएका छन् । ‘पाठ्यक्रममा भएका कुरा पढेर भन्दा गरेर धेरै बुझ्नुपर्ने छन्,’ विद्यार्थी उषा तिवारीले भनिन्, ‘किताबमा भएअनुसारको सबै अभ्यास गर्न पाइँदैन ।’ पाठ्यभार अनुसार अवलोकन भ्रमणबाट समेत सिकाइमा सहयोग पुग्ने भए पनि अवलोकन भ्रमण नभएको विद्यार्थीको गुनासो छ । विद्यालयले आर्थिक अभाव र छुट्टै बजेटको व्यवस्था नहुँदा विद्यार्थीलाई नियमित भ्रमण गराउन नसकिएको बताएको छ ।
विद्यालयका प्रधानाध्यापक रामप्रसाद रिजालका अनुसार पछिल्लो समय यो विषयमा विद्यार्थीको आकर्षण बढ्दो छ । बाली विज्ञानको पढाइ हुने जिल्लाकै यो मात्रै विद्यालय भएकोले सबैजसो गाउँका विद्यार्थी यहाँ अध्ययनरत छन् । कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थी जिल्लाबाहेक बाग्लुङको केही गाउँका समेत छन् ।
प्राविधिक विषयका इञ्चार्ज क्षत्रीका अनुसार मध्यमस्तरको जनशक्ति उत्पादन गर्न शिक्षा विभागले सृजना गरेको यो विषय सामान्य विद्यार्थीका लागि निकै जटिल छ । ‘विज्ञानका अलावा कृषि पढाइ हुँदा दोहोरो चाप छ,’ उनले भने, ‘मध्यम जनशक्ति उत्पादन भनेपछि सहज कोर्ष हुनुपर्नेमा यो विषयमा थप कोर्ष र पाठ्यभार लादिएको छ । यो वैज्ञानिक छैन ।’ कक्षा १२ पास गरेपछि सबै विषय पढ्न खुल्ला हुने भएकोले बढी क्षमतावान् विद्यार्थीका लागि मात्रै कोर्ष बनाइएको उनको आरोप छ । कोर्ष जटिल र बढी तयारी गर्नुपर्ने भएकोले शिक्षक नपाइने समस्या पनि उस्तै रहेको विद्यालयले बताएको छ ।