सुर्खेत उपत्यका खानेपानी आयोजना : ४ करोडमा आपूर्ति क्षमता बढाइँदै
Nov 30, 2018
 
प्रदेश समाचार
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा खानेपानी समस्या समाधानका लागि दमाईखोलाबाट थप पानी ल्याउने तयारी गरिएको छ । उक्त कामका लागि ४ करोड खर्च हुने बताइएको छ । तत्कालीन समस्या समाधानका लागि दमाईखोलाको पानी करैखोलास्थित मुख्य वितरण लाइनमा मिसाइने सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले बताएको छ ।
संस्थाका अध्यक्ष कुलमणि देवकोटाले दमाईखोलाको पानी ल्याउने प्रक्रिया शुरू गर्न लागिएको जानकारी दिए । ‘दमाईखोलाबाट पानी ल्याउन डीपीआर तयार भइसकेको छ,’ उनले भने, ‘यो काम सम्पन्न भएपछि तत्कालको माग पूरा गर्न सकिन्छ ।’ वीरेन्द्रनगरमा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि भेरी नदीको पानी लिफ्ट गरी ल्याउनु एक मात्र विकल्प रहेको उनले बताए । १८ वर्षदेखि संस्थाले सुर्खेत उपत्यकामा खानेपानी वितरण गरिरहेको छ ।
दमाईखोलाको पानी उत्पादन क्षमता १५ लिटर प्रतिसेकेण्ड छ । यो खोलाको पानी उपत्यकामा वितरण गर्न सके सुक्खायाममा समेत पानी वितरणमा समस्या नहुने अध्यक्ष देवकोटाले बताए । उक्त खोलाको पानी आपूर्तिपछि थप ७ हजार धारा वितरण गर्न सकिने उनले जानकारी दिए । वीरेन्द्रनगरमा फागुनदेखि नै खानेपानी वितरणमा पालो प्रणाली लागू गर्नुपर्ने बाध्यता छ । संस्थाले अहिले झुप्राखोलाको सोलीघोप्टेबाट पानी ल्याएर १५ हजार ९ सय ५८ धारामार्फत पानी वितरण गरिरहेको छ । उपत्यकामा हाल १ सय ४९ लिटर प्रतिसेकेण्डको दरले उपलब्ध पानी आपूर्ति भएको देवकोटाले बताए । उपत्यकाको आवश्यकता पूरा गर्न १७८ दशमलव ५ लिटर प्रतिसेकेण्ड पानी आवश्यक छ ।
सरकारले सुर्खेत उपत्यकामा भेरी नदीको पानी ल्याउन १० करोड बजेट छुट्ट्याएको छ । उक्त बजेटले लिफ्ट प्रविधिको आयोजना बनाउन लागिएको छ । पहिलो चरणमा आयोजनाको डीपीआर पूरा भएको संस्थाले बताएको छ । प्रारम्भिक सर्वेक्षणले आयोजना सम्पन्न गर्न २ अर्ब ९१ करोड खर्च हुने निष्कर्ष निकालेको थियो ।
उक्त आयोजना ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । पहिलो चरणमा भेरीको पानी अमृतडाँडासम्म र दोस्रो चरणमा वितरण केन्द्रसम्म ल्याउन सकिने अध्ययनको निष्कर्ष छ । उक्त आयोजनाको पानी ३ सय ५० लिटर प्रतिसेकेण्ड क्षमताको हुने उल्लेख छ ।