पर्वत । पर्वतका गाउँगाउँमा लाखौं रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र परेका छन् । केन्द्रीय प्रसारणको विद्युत् पुगेपछि लघु जलविद्युत् आयोजना प्रयोगविहीन भएका हुन् ।
गएको २ दशक अघिदेखि यूएनडीपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्ण रूपमा बन्द छन् । ३ वर्षअघिसम्म तीनओटा मात्र आयोजना सञ्चालनमा रहेकोमा अहिले केन्द्रीय प्रसारण लाइन विस्तार भएसँगै ती पनि बन्द भएका छन् ।
दक्षिण पर्वतको सरौखोलामा रहेको १२ किलोवाट क्षमताको अगुवाखोला, पाङराङको साढे ७ किलोवाट क्षमताको गढीसिद्ध र ११ किलोवाटको बाच्छाखोला, हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला, भोर्ले गाविसमा रहेको १६ किलोवाट क्षमताको धुवाकोट, क्याङ गाविसमा सञ्चालित १६ किलोवाट क्षमताको घट्टेखोला लघुजलविद्युत् आयोजना पूर्ण रूपमा बन्द छन् ।
त्यस्तै, बाच्छा गाविसको बाच्छाखोलामा रहेका १९ र २१ किलोवाटका बाच्छाखोला लघु जलविद्युत् आयोजनाले पनि उत्पादन गर्न छाडेका छन् ।
मोदी गाउँपालिका–१ भुकताङलेमा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला लघु जलविद्युत् आयोजना पनि २ वर्षअघि आएको पहिरोले पुरिएपछि अलपत्र छ भने महाशिला गाउँपालिका–२ भोक्सिङको ६ किलोवाट क्षमताको छहरेखोला र ९ किलोवाट क्षमताको छर्छरेखोला लघु जलविद्युत् आयोजना पनि २ वर्षअघि गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि थन्किएको छ ।
तत्कालीन जिल्ला विकास समिति ऊर्जा शाखाका प्रमुख मञ्जु शिलाकारका अनुसार मर्मतका लागि बजेटसमेत अभाव भएको र मर्मत गरेपछि पनि लामो समयसम्म काम गर्न छाडेपछि स्थानीयले मर्मतमा बेवास्ता गरेका हुन् ।
जिल्लाका ११ लघु जलविद्युत् आयोजनाबाट १५६ दशमलव ५ किलोवाट विद्युत् उत्पादन भएको र त्यसबाट १ हजार ४ सय ३ घरधुरीका ९ हजार बासिन्दा लाभान्वित भएका थिए । २०५५ देखि सञ्चालनमा रहेका यी आयोजना अहिले भग्नावशेष बनेका छन् । ती ११ आयोजनाका लागि २ करोड २५ लाख रुपैयाँ खर्चिए पनि केन्द्रीय प्रसारण, उपभोक्ताको बेवास्ता र मर्मत अभावले लोप हुने अवस्थामा पुगेका हुन् ।