ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महाकाली सिँचाइ तेस्रो चरण आयोजना : १२ वर्षमा १३ किलोमिटर मात्रै मूल नहर निर्माण

Dec 6, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत २७ किलोमिटर मूल नहर निर्माणको गति सुस्त भएको छ । निर्माण शुरू भएको लामो अवधिमा १३ किलोमिटर मात्र मूल नहर निर्माण भएको पाइएको हो । आव २०७३/७४ देखि शुरू भएको आयोजनाको निर्माण प्रगति २०७५ मंसिर दोस्रो सातासम्म आइपुग्दा १३ किलोमिटर मात्र सम्पन्न भएको छ । १४ किलोमिटर अझै निर्माण हुन बाँकी छ । कञ्चनपुर हुँदै कैलालीको मालाखेतीसम्म सिँचाइ पुर्‍याउन महाकाली सिँचाइ तेस्रो चरणका लागि बजेट विनियोजन गरिएको थियो । महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माणको काम निकै सुस्त गतिमा अघि बढेको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष जंगबहादुर मल्लले बताए । महाकाली सिँचाइ तेस्रो चरणको कार्यालय महेन्द्रनगरका अनुसार निर्माणले पूर्णता पाए कैलालीको मालाखेती र कञ्चनपुरको पूरै क्षेत्र गरी ३३ हजार ५ सय २० हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । सन् २०२२ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि सिँचाइ नहर निर्माणको गति भने अपेक्षाअनुरूप देखिएको छैन । निर्माण अघि बढाउने भनिएको नहरको १४ किलोमिटर क्षेत्रमा मुआब्जा वितरणको काम अझै बाँकी छ । त्यस्तै, २० हजार ३ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने गरी निर्माण थालिएको राष्ट्रिय गौरवको अर्को परियोजना रानीजमरा, कुलरिया सिँचाइ आयोजनाको निर्माण प्रगति पनि अपेक्षाअनुरूप देखिएको छैन । लम्की शाखा नहर निर्माण कार्य मुआब्जाका कारण प्रभावित देखिएको छ भने वन क्षेत्रमा परेको जग्गाको विवाद मिलाएर ६ किलोमिटर नहर निर्माण गर्न बाटो खुलेको छ । १४ दशमलव ७ किलोमिटर लम्की शाखा नहर निर्माणका लागि २०७३ साउनमा १ अर्ब ७१ करोड ७९ लाख १५ हजारमा ठेक्कासम्झौता गरिएको थियो । आयोजना कार्यालय टीकापुरका अनुसार पथरियादेखि थप १८ किलोमिटर शाखा निर्माणका लागि सर्वेको काम भइरहेको छ । नहर निर्माणका लागि विश्व बैंकले ६ अर्ब लगानी गर्ने बताइएको छ । १२ अर्ब ६३ करोड कुल लगानी रहेको आयोजनाअन्तर्गत कर्णालीको चिसापानीमा इण्टेक (मुहान) निर्माण सम्पन्न भएर ५ दशमलव ८ किलोमिटर मूल नहर निर्माणको काम अन्तिम चरणमा पुगेको कार्यालयले जानकारी दिएको छ । आयोजना कार्यालयका इञ्जिनीयर कृष्णबहादुर विष्टका अनुसार आयोजनाको भौतिक संरचना निर्माणतर्फ ३६ प्रतिशत काम सकिएको छ भने शाखा नहर निर्माणको काम भइरहेको छ । आयोजनाअन्तर्गत रानीजमरा र कुलरिया गरी तीनओटा शाखा नहर विस्तार यसअघि नै सम्पन्न भइसकेको छ । सिञ्चित क्षेत्रको संरक्षणका लागि कर्णाली, पथरैया र मोहना नदीको तटबन्ध कार्य अहिलेसम्म २१ किलोमिटर मात्र सम्पन्न भएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)