सुदूरपश्चिमको औद्योगिक क्षेत्र : उद्योग सञ्चालनका लागि ६३७ आवेदन
Dec 7, 2018
 
प्रदेश समाचार
धनगढी । सुदूरपश्चिम प्रदेशका दुई औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनका लागि ६३७ उद्योगीको आवेदन परेको छ । विशेष आर्थिक क्षेत्र (सेज) स्थापनाका लागि सरकारले सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलालीको डुडेझाँडी तथा कञ्चनपुरको दैजी–छेला छानेको छ । दैजी–छेला औद्योगिक क्षेत्रमा ३६२ तथा कैलालीको डुडेझाँडी औद्योगिक क्षेत्रमा २७५ उद्योगीले आवेदन दिएका हुन् ।
फलाम, सिमेन्ट, कागज उद्योग, तेल, खाद्य सामग्री, नमकिनलगायतका वस्तु उत्पादनका लागि आवेदन परेको जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले बताए । साना, ठूला र मझौला उद्योग स्थापनाका लागि गत साउनमा आवेदन खोलिएको थियो ।
कञ्चनपुरको वेदकोट नगरपालिका प्रमुख अशोककुमार चन्दले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको टोलीले दैजी–छेला औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिसकेको बताए । उनका अनुसार वातावरणीय प्रभाव मूल्यांकनको काम भइसकेको छ । सरकारले प्रस्ताव गरेअनुसार दैजीछेलामा ९ सय बिगाहा र डुडेझाँडीमा १ हजार १ सय बिगाहा क्षेत्रफल औद्योगिक क्षेत्र स्थापनाका लागि छुट्याइएको छ । सरकारले दैजीछेला औद्योगिक क्षेत्रको औपचारिक घोषणा गरेको छ भने डुडेझाँडी औद्योगिक क्षेत्रको औपचारिक घोषणा हुन बाँकी छ ।