चिसापानी–राजकाँडा केबुलकार सञ्चालनका लागि डीपीआर र आइइको काम शुरु
Dec 9, 2018
 
बजार
मङ्सिर २३, धनगढी । सुदूरपश्चिममा पहिलो पटक केबुलकार सञ्चालनमा ल्याइने भएको छ । चन्द्रागिरी केबुलकारका अध्यक्ष चन्द्र ढकालको ६० प्रतिशत तथा कैलालीवासीको ४० प्रतिशत लगानीमा चिसापानी–राजकाँडा केबुलकार सञ्चालनमा ल्याइन लागेको हो । दुई अर्व ५० करोड रुपैयाँको लागतमा जाल्पादेवी केबुलकार प्रालिको नामबाट केबुलकार सञ्चालनका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तथा वातावरणीय प्रभाव मुल्यांकन (आइइ)को काम अघि बढाइसकेको जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले बताए ।
केबुलकार सञ्चालनका लागि एकसय विगाहा क्षेत्रफल कम्पनीको नाममा नामसारी भइसकेको छ । चिसापानी–राजकाँडा केबुलकारको लम्बाई तीन दशमलव दुई किलोमिटर रहने छ । केबुलकार सञ्चालनका लागि आवश्यक एक सय विगाहा जमिन स्थानीयवाट एककरोड रुपैयाँमा खरीद गरेर कम्पनीको नाममा नामसारी गरिसकिएको छ । आवश्यक परेमा थप जमिनदिन स्थानीय तयार भएका कारण जग्गाको समस्या नभएको उनले बताए ।
सुदूर पश्चिमलाई पुर्वसम्म जोड्ने कैलालीको चिसापानीस्थित कर्णाली पुल यस प्रदेशको प्रमुख पर्यटकीयस्थलमध्ये एक भएको बताउँदै थापाले पहिलो पटक सोहिस्थानबाट केबुलकार सञ्चालनमा आउन लागेको बताए । प्रदेशको पर्यटन विकासमा यसले सहयोग पुर्याउने अपेक्षासहित दुई वर्ष भित्रै निर्माण सम्पन्न गर्ने गरी आवश्यक काम भइरहेको कम्पनीले बताएको छ ।
केबुलकार सञ्चालनसँगै राजकाँडामा होमस्टे सञ्चालनमा ल्याएर प्रदेशको पर्यटन विकासमा थप योगदान पु¥याउने गरी काम थालिने बताइएको छ । केबुलकार सञ्चालनमा आए सय जनाले प्रत्यक्ष रोजगारी पाउनेछन भने आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा कम्पनीले गरेको छ । यसले प्रदेशको पर्यटकीय गन्तव्यको मेरुदण्डको काम गर्ने संयोजक थापाको दावी छ । उनले जिल्ला समन्वय समितिले पर्यटन विकासलाई प्रवद्र्धन र प्रचार÷प्रसार गर्न चिसापानी र गौरीफन्टा नाकामा पर्यटन सूचना केन्द्र राख्ने तयारी भइरहेको पनि जानकारी गराए ।