पर्वत । पर्वतको फलेवास नगरपालिकाले डहरे देउरालीलाई खुला चिडियाखानाको रूपमा विकास गर्ने भएको छ । घना जंगलले ढाकिएको डहरे लेकमा खुला रूपमा जगंली जनावर अवलोकन गर्न सकिनेगरी चिडियाखाना बनाउन लागिएको हो । डहरे देउराली क्षेत्रलाई खुला चिडियाखाना बनाउन चालू आर्थिक वर्षमा बजेटको व्यवस्था गरिएको छ । पहाडको टुप्पामा भ्यूटावर बनाएर वन्यजन्तु अवलोकनको व्यवस्था गर्न लागिएको नगरपालिकाका प्रमुख पद्मपाणि शर्माले बताए । ‘भ्यू टावर निर्माणको काम शुरू भएको छ,’ उनले भने, ‘विकासमा पछि परेको डहरेलाई आकर्षक पर्यटन गन्तव्य बनाउने अभियानमा छौं ।’
यहाँ आउने पर्यटकलाई वासका लागि खुमगाउँका ५० घरमा होमस्टे सञ्चालन गरिएको छ । ‘डहरे आउने पर्यटकलाई घुमघामपछि होमस्टेमा वासको व्यवस्था गरेका छौं,’ शर्माले भने, ‘स्थानीय परिकार र जनजातिका कलासंस्कृतिले उनीहरूलाई स्वागत गरिन्छ ।’ मगर समुदायको बाहुल्य रहेको खुमगाउँमा आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको छ । होमस्टे सञ्चालक होमबहादुर थापा मगरका अनुसार होमस्टे वास बस्न डहरेदेउराली घुम्ने पर्यटक आउँछन् ।
नेपालकै पहिलो होमस्टे गाउँ सिरुबारीबाट २ घण्टा र पर्वतको कार्कीनेटाबाट १ घण्टा हिँडेर डहरे पुग्न सकिन्छ । बालाचतुर्दशीका दिन यहाँ स्थानीय हस्तकलाका सामान, कृषि पेशामा प्रयोग हुने औजार, डोका, नाम्लाका साथै स्थानीयस्तरमा उत्पादित फलफूलको अत्यधिक व्यापार हुने गरेको छ ।
डहरे लेकमा कालो भालु, चितुवा, मृग, ब्वासो, कस्तुरीलगायत जनावरका साथै कालिज, लामपुच्छ«े, लुइँचे, चित्रालगायत चराचुरुंगी पनि पाइन्छन् । डहरेमा अहिले वन्यजन्तु तथा वनक्षेत्र संरक्षण, प्याराग्लाइडिङ, डहरेस्थित मन्दिरको प्रवद्र्धन लगायत कार्यक्रम सञ्चालनमा छन् । यो क्षेत्र विभिन्न हिमश्रृंखला र सूर्योदयको अवलोकनका लागि उपयुक्त मानिन्छ । फलेवास नगरपालिकाले यही क्षेत्रमा शान्ति वाटिका निर्माण गरिरहेको छ ।
डहरे देउरालीमा दैनिक २ सय पर्यटक पुग्ने गरेका छन् । डहरेलाई पदमार्गको रूपमा विकास गर्ने योजना समेत रहेको नगरपालिकाका प्रशासकीय अधिकृत मोतीराम सापकोटाले जानकारी दिए ।