ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामुदायिक विद्यालयमा निजीका पाठ्यपुस्तक

Dec 13, 2018  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
रुकुम । रुकुमको एक सामुदायिक विद्यालयले निजी विद्यालयस्तरको पाठ्यपुस्तक पढाउन थालेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–११ स्थित हिमालय माध्यमिक विद्यालयमा आधारभूत तहमा निजीको पाठ्यपुस्तकबाट पठनपाठन भइरहेको हो । जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिएर निजी विद्यालयमा पढाइ हुने पाठ्यपुस्तक पढाउन थालिएको विद्यालयले बताएको छ । हिमालय माविको आधारभूत तहका इञ्चार्ज कृष्णबहादुर ओलीले विद्यार्थीको पढाइ सुधार्न अंग्रेजी माध्यममा पढाइ शुरू गरिएको जानकारी दिए । शुरूको वर्ष साझा प्रकाशनले सामुदायिक विद्यालयकै लागि छापेका अंग्रेजी पाठ्यपुस्तक पठनपाठन गराइए पनि पछिल्लो वर्षदेखि निजी विद्यालयका लागि बनाइएका पाठ्यपुस्तक पढाउन थालिएको ओलीले बताए । निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढेपछि सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन चुनौती भएको थियो । आधारभूत तह सञ्चालन गरिएको ठाउँमै दुई निजी विद्यालय सञ्चालन भएपछि विद्यार्थी ह्वात्तै घटेको प्रधानाध्यापक भीमबहादुर ओलीले बताए । ‘निजी स्कूलका कारण हाम्रो विद्यालयमा विद्यार्थी घट्दै गएपछि अंग्रेजी माध्यमको पाठ्यपुस्तक पढान थालेका हौं,’ उनले भने । उनका अनुसार उक्त पाठ्यपुस्तकको व्यवस्था विद्यालय आफैले गर्दछ । कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक खरीदमा ३ लाख रुपैयाँ खर्च हुने गरेको उनको भनाइ छ । विद्यालयमा १ सय ५३ जना विद्यार्थीले पठनपाठन गरिरहेका छन् । पहिले विद्यार्थी घटेर १५ जनामा सीमित भएपछि विद्यालयले शैक्षिक अवस्था सुधार्न अंग्रेजी माध्यमबाट पढाउन थालेको हो । अंग्रेजी माध्यममा पठनपाठन शुरू गरेको वर्ष ७५ जना विद्यार्थी भर्ना भएको उक्त विद्यालयमा अर्को वर्ष १ सय २० भन्दा बढी विद्यार्थी भर्ना भएका थिए । सामुदायिक विद्यालय अंग्रेजी माध्यममा पठनपाठन गरेर शैक्षिक गुणस्तर बढाउन लागिएको बताइएको छ । साथै, चौरजहारी नगरपालिका, एकीकृत परियोजनाको ‘सबैका लागि पढाइ कार्यक्रम’ र विद्यालय व्यवस्थापन समतिको पहलमा विद्यालयलाई नमूना बनाउन समेत लागिएको छ । विद्यालयलाई नमूना बनाउन नगरपालिकाले शुरूको चरणमा १० लाख आर्थिक सहयोग गरेको छ । सबैका लागि पढाइ कार्यक्रमले विद्यालयको पाँचओटै कक्षामा बसाइ व्यवस्थापन, राउण्ड टेबल, शौचालय मर्मत, घेराबार निर्माण, १ देखि ३ कक्षामा बुक कर्नर स्थापनालगायत कार्यमा ६ लाख रुपैयाँ सहयोग गरेको छ । बालबालिकाको पढाइ राम्रो भएपछि मात्रै अरू सम्भव हुन्छ भन्ने उद्देश्यले हिमालय माविको आधारभूत तहमा सहयोग गरिएको सबैका लागि पढाइ कार्यक्रमका संयोजक केशवकुमार बीसीले बताए । उक्त विद्यालयमा १ देखि १२ कक्षासम्म पठनपाठन हुन्छ । तर, विद्यालय दुई ठाउँमा सञ्चालित छ । चौफामा ६ देखि १२ कक्षा पठनपाठन हुन्छ भने टाटामा १ देखि ५ कक्षासम्म पठनपाठन हुन्छ । टाटास्थित आधारभूत तह (१ देखि ५) मा निजी विद्यालयका पाठ्यपुस्तक पढाउन थालेको ४ वर्ष भएको विद्यालयले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)