ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नगर परिषद् नहुँदा विकास निर्माणका काम प्रभावित

Dec 20, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

रौतहट । रौतहटमा विवादका कारण तीन स्थानीय तहको परिषद् हुन नसक्दा विकास निर्माणका काम प्रभावित भएको छ । स्थानीय तहले गएको असार मसान्तअघि नगरपरिषद् गरिसक्नु पर्ने भए पनि कटहरिया, फतुवा विजयपुर र गुजरा नगरपालिकाको परिषद् हुन नसकेको हो ।

स्थानीय तहका जनप्रतिनिधि बीचको आन्तरिक विवादका कारण परिषद् बस्न सकेको छैन । गुजरा नगरपालिकाले परिषद्को उद्घाटन सत्र गरे पनि योजना तर्जुमाका लागि सहमति हुन सकेको छैन । वडाध्यक्षले बजेट थोरै भएको भन्दै विरोध व्यक्त गरेपछि परिषद् सम्पन्न हुन नसकेको हो ।

पहिलो नगरसभाबाट प्रत्येक वडालाई १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको र यस वर्ष वडालाई ५० लाख बजेट दिन खोजिएपछि विवाद भएको वडाध्यक्ष पवन गिरीले बताए । विकास निर्माणको काम गर्न पुग्ने गरी कम्तीमा १ करोड २० लाखका दरले रकम बाँडफाँट गर्न उनले सुझाव दिए ।

समान किसिमले बजेट भागबण्डा गर्न सो नगरपालिकाका ५ वडाका वडाध्यक्षहरूले माग गरेपछि नगरसभा प्रभावित भएको हो । गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले नगरको समग्र विकासका लागि सबै एक हुनुपर्ने भन्दै बजेटमै विवाद गर्नु उचित नभएको बताए । कटहरिया नगरपालिकाका उपप्रमुख नुरजाहा खातुनले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी पाए पनि नगर परिषद् गर्न वडाका जनप्रतिनिधिले असहयोग गरेको बताइन् ।

खातुनमाथि अनियमितताको आरोप लगाउँदै वडाध्यक्षहरूले परिषद् गर्न असहयोग गरेका छन् । खातुनले गाडी तथा घरभाडा, इन्धन खरीद, सञ्चालन तथा मर्मतसम्भार, तालीम गोष्ठी कार्यक्रम, विविध कार्यक्रम खर्च, औषधि खरीद लगायत शीर्षकमा भ्रष्टाचार गरेको आरोप छ । यता फतुवा विजयपुर नगरपालिकामा विकास योजनामा विवाद भएपछि परिषद् हुन नसकेको हो । सो नगरपालिकाका प्रमुख विजय यादवले परिषद्का लागि प्रयास भइरहेको बताए । रौतहटमा १६ ओटा नगरपालिका र २ ओटा गाउँपालिका गरी १८ ओटा स्थानीय तह छन् । स्थानीय सरकार सञ्चालन ऐनमा आर्थिक वर्षको असारमा सबै स्थानीय तहको परिषद् सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)