ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालीगण्डकी प्रसारण लाइन प्रभावित

Dec 20, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतको कुश्मा हुँदै म्याग्दीको दानासम्म निर्माणाधीन कालीगण्डकी प्रसारण लाइनको काम रूख कटानको आदेश नहुँदा प्रभावित भएको छ । रूख काट्न वन डिभिजन कार्यालय पर्वत र म्याग्दी जिल्ला वन कार्यालयले रोक लगाएको हो ।

प्रसारण लाइन क्षेत्रमा ४७७ ठूला रूख र ९८१ साना बिरुवा काट्नुपर्ने बताइएको छ । तर, टावर र तार विस्तार गर्दा वन मासिएको भन्दै वन कार्यालयले रूख काट्न रोकेको छ । प्रसारण लाइन अन्तर्गत ११४ ओटा मध्ये हालसम्म ८१ ओटा टावर निर्माण भएको छ ।

२०७४ पुस १३ गतेको मन्त्रिपरिषद् बैठकले प्रसारण लाइनका ३० ओटा टावर निर्माण हुने वन क्षेत्रको २ दशमलव ५८ हेक्टर जग्गा भोगाधिकार र ४ हजार २०८ ओटा रूख काट्न अनुमति दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय एक वर्षसम्म कार्यान्वयन नहुँदा वन क्षेत्रमा टावर बनाउने र तार तान्ने काम गर्न समस्या परेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए ।

वन क्षेत्रमा ओगट्ने क्षेत्रफल बराबरको सट्टा जग्गा उपलब्ध गराउनुपर्ने वन विभागसँगको सम्झौता कार्यान्वयनमा आयोजनाले उदासीनता देखाएकाले बाध्य भएर कटान आदेश रोकिएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रीडमा जोड्न म्याग्दीको दाना र पर्वतको खुर्कोटमा सबस्टेसन र ३९ किलोमिटर प्रशारण लाइन बनाइरहेको छ । खुर्कोटबाट मोदी सब–स्टेशनसम्म तार टाँगिएको छ ।

एशियाली विकास बैंकको सहयोगमा सन् २०१६ मा दानादेखि खुर्कोट जोड्ने प्रसारण लाइन र सबस्टेशन निर्माण गर्न २ अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)