ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिम प्रदेश : जलविद्युत् आयोजनाको निर्माण तीव्र

Dec 23, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा अघि बढेको पाइएको छ । पहाडी जिल्ला बझाङ र दार्चुलामा निजीक्षेत्रको लगानीमा निर्माणाधीन आयोजनाहरूको निर्माण तीव्र देखिएको हो । प्रदेशभित्रका नौ जिल्लामध्ये दुई जिल्लामा मात्रै जलविद्युत्मा निजीक्षेत्रको लगानी देखिएको हो । दार्चुलामा ८ मेगावाट क्षमताको अपर नौगडगाढ साना जलविद्युत् आयोजनाको उत्पादन आगामी चैत १५ गतेदेखि हुने कम्पनीले बताएको छ । अपि पावर कम्पनीले निर्माण गरेको यो दोस्रो आयोजना हो । आयोजनाबाट उत्पादित विद्युत् चमेलिया जलविद्युत् आयोजनाको बलाँच सबस्टेशनको १३२ केभी प्रसारण लाइनमा जडान हुनेछ । सबस्टेशनको निर्माण सम्पन्न भइसकेको छ । आयोजनामा नेपाल एसबीआई बैंक र प्रभु बैंकको संयुक्त लगानी छ । कम्पनीले आयोजना निर्माणपश्चात् ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य शुरू गर्नेसमेत यसअघि नै जानकारी गराइसकेको छ । दार्चुलामा सरकारी स्तरबाट ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर हाल राष्ट्रिय प्रसारण लाइनमा जोडिसकिएको छ । यो प्रदेशभित्र सरकारी स्तरबाट निर्माण सम्पन्न यो नै एकमात्र जलविद्युत् आयोजना हो । बझाङमा एक मेगावाट क्षमताको जेउलीगाड जलविद्युत् आयोजनाको काम चैतभित्रै सम्पन्न हुने निर्माण कम्पनीले बताएको छ । जेउलीगाड सञ्चालनमा आएपछि बझाङमा विद्युत् समस्या पूर्णरूपमा समाधान हुने रंगुनखोला हाइड्रो प्रालिका सञ्चालक वीरेन्द्र मल्लले बताए । तीनओटा आयोजनामध्ये कालंगा हाइड्रोमा ३ दशमलव ८ किमी, अपर कालंगामा ८ दशमलव २ किमी र सानीगाडमा २ दशमलव १ किमी गरी १५ किमी सुरुङ निर्माणको काम भइरहेको छ । ३८ दशमलव ४६ मेगावाटको कालंगा जलविद्युत् आयोजना, १६ मेगावाटको सानीगाड जलविद्युत् आयोजना, १० मेगावाट विद्युत् उत्पादन हुने अपर कालंगाको ड्यामसाइट र बक्स कल्भर्टको काम ५० प्रतिशत सम्पन्न भइसकेको निर्माण कम्पनीले बताएको छ । आगामी ३ वर्षभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य उक्त कम्पनीको छ । २०६५ देखि कालंगा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन थालिएको थियो । करीब ६५ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको आयोजनाबाट झण्डै ८० मेगावाट विद्युत् उत्पादन गर्न सकिने कालंगा हाइड्रो प्रालिका सञ्चालक खगेश्वर बोहराले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)