सुदूरपश्चिम प्रदेश : ७४ स्थानीय तहमा बैंक शाखा विस्तार
Dec 24, 2018
 
प्रदेश समाचार
धनगढी । सुदूरपश्चिम प्रदेशका ७४ स्थानीय तहमा बैङ्क शाखा कार्यालय विस्तार गरिएको छ । कुल ८८ स्थानीय तहमध्ये ७ जिल्लाका १५ स्थानीय तहमा मात्रै बैङ्क तथा वित्तीय संस्था विस्तार हुन बाँकी रहेको नेपाल राष्ट्र बैङ्कको क्षेत्रीय कार्यालय धनगढीले बताएको छ ।
विकट ग्रामीण स्थानीय तहमा मात्रै शाखा विस्तार बाँकी रहेकोले ती स्थानमा पनि छिटै शाखा कार्यालय सञ्चालनमा आउने कार्यालयका प्रमुख किरण पण्डितले जानकारी गराए । सडक, सुरक्षा, विद्युत्, भौतिक पूर्वाधारलगायत कारण प्रदेशभित्रका अति विकट स्थानीय तहमा मात्रै बैङ्क तथा वित्तीय संस्था पुग्न नसकेको अधिकारीहरूले बताएका छन् ।
बैङ्क तथा वित्तीय संस्थाहरू पुग्न बाँकी रहेका स्थानीय तहमध्ये अछामका चौमारी र मेललेख गाउँपालिका, बझाङका खप्तड छान्ना, काँडा र थलारा गाउँपालिका, बाजुराका पाण्डव गुफा, त्रिवेणी, गपुर तथा स्वामीकार्तिक गाउँपालिका छन् ।
डडेल्धुराको नवदुर्गा र गन्यापधुरा गाउँपालिका, दार्चुलाको व्यास र अपि हिमाल गाउँपालिका, डोटीमा बडिकेदार गाउँपालिका तथा कैलालीमा मोहन्याल गाउँपालिकामा बैङ्क शाखा विस्तार हुन बाँकी रहेको पण्डितले जानकारी गराए ।
बैतडी र कञ्चनपुरका सबै स्थानीय तहमा बैंकिङ सुविधा पुगेको छ । सरकारले २०७४ साउनमै देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने समयसीमा तोके पनि सुदूरपश्चिम प्रदेशका ७४ स्थानीय तहमा भने एक वर्षपछि मात्रै बैङ्कका शाखा कार्यालय विस्तार भएका हुन् । विविध समस्या हुँदाहुँदै पनि बैङ्क शाखा कार्यालय विस्तार हुनु सुखद पक्ष भएको प्रमुख पण्डितले बताए ।