सुदूरपश्चिम प्रदेश : पहुँचको आधारमा बजेट बाँडेको गुनासो
Dec 26, 2018
 
प्रदेश समाचार
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पहुँचको आधारमा बजेट बाँडफाँट गर्ने गरेको आरोप स्थानीय तहका जनप्रतिनिधिहरूले लगाएका छन् । प्रदेश सरकार र स्थानीय तहबीच कुनै समन्वय नभएको बताउँदै गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष दुर्गादत्त ओझाले कार्यकर्ता र व्यक्ति विशेषका आवश्यकता पूर्ति हुने गरी प्रदेश सरकारले बजेट वितरण गर्दै आएको बताए ।
प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि बजेट निर्माण तथा सार्वजनिक गर्दा स्थानीय तहका जनप्रतिनिधिसँग कुनै समन्वय नगरेको उनको आरोप छ । आफू निकटका व्यक्तिले फोन गरेको आधारमा प्रदेशले रकम वितरण गर्ने गरेको भन्दै उनले कानून सम्मत र आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने माग राखे । संगठनले मंगलवार धनगढीमा पत्रकार सम्मेलन गरी व्यक्ति विशेषका योजना प्रदेश सरकारले तत्काल बन्द गर्नुपर्ने बताएको छ ।
स्थानीय तहका लागि विनियोजन गरेको बजेट कतै कटौती गरेको त कतै आवश्यकताभन्दा बढी छुट्याएको आरोप गाउँपालिका महासंघको छ । पटक–पटक प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वयका लागि आफूहरूले पहल गरे पनि प्रदेश सरकारले वास्ता नगरेको गुनासो स्थानीय तहका जनप्रतिनिधिको छ ।
‘एक÷डेढ लाखमा निर्माण सम्पन्न हुने मन्दिरमा १० लाख रुपैयाँ छुट्याउनु आर्थिक अनियमितताको उदाहरण हो,’ कञ्चनपुरको बेल्डाडी गाउँपालिकाकी उपाध्यक्ष कमलादेवी कार्कीले भनिन् । आवश्यकता र मागको आधारमा प्रदेश सरकारले बजेटको सन्तुलित व्यवस्था नमिलाउँदा काम गर्न समस्या भएको उनले गुनासो गरिन् ।