ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेला–महोत्सव व्यवस्थित गर्न कार्यविधि तयार

Jan 2, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । वीरेन्द्रनगरमा अबदेखि एउटा संस्थाले ३ वर्षमा एकपटक मात्रै मेला वा महोत्सव लगाउन पाउने भएको छ । मेला–महोत्सव व्यवस्थित गर्न वीरेन्द्रनगर नगरपालिकाले यस्तो कार्यविधि तयार गरेको हो । मेला–महोत्सवको समयमा विरोध हुन थालेपछि नगरपालिकाले उक्त व्यवस्थासहितको ‘मेला–महोत्सव व्यवस्थापन कार्यविधि–२०७५’ तयार पारेको छ । कार्यविधिअनुसार मेला–महोत्सव आयोजना गर्न चाहने निकायले ३५ दिनअगाडि नगरपालिकामा प्रस्ताव पेश गर्नुपर्नेछ । मेला–महोत्सव सञ्चालन गर्नुअघि आयोजकले अपेक्षित रकमको ५ प्रतिशत रकम नगरपालिकामा अग्रीम रूपमा धरौटी राख्नुपर्नेछ । ‘मेला–महोत्सवको उद्देश्य कोष वृद्धि वा आय–आर्जनसमेत भएमा प्रस्तावमा उल्लिखित अपेक्षित रकमको कम्तीमा ५ प्रतिशत रकम नगरपालिकामा अनुमति पूर्व धरौटी राख्नु पर्नेछ,’ कार्यविधिमा भनिएको छ । यदि व्यवस्थापनका शर्तहरू पालना नगरे धरौटी रकम जफत हुने कार्यविधिमा उल्लेख गरिएको छ । शर्तअनुसार मेला–महोत्सव नगरे आयोजकलाई ५ वर्षसम्म महोत्सव सञ्चालन गर्न रोक लगाइने कार्यविधिमा उल्लेख छ । आयोजकले महोत्सवमा सहभागी तथा स्थलभित्रका सम्पत्तिको अनिवार्य बीमा गर्नुपर्ने, महोत्सव सम्पन्न भएको १ महीनाभित्र आम्दानीखर्चको विवरणसहित प्रतिवेदन नगरपालिकामा बुझाउनु पर्ने तथा पत्रकार सम्मेलन गरी आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, सूचना एवम् सन्देशमूलक प्रदर्शनीका लागि १० प्रतिशत, कर्णाली प्रदेशभित्र उत्पादन हुने वस्तुका लागि २० प्रतिशत, वीरेन्द्रनगरभित्रका व्यवसायीका लागि स्टलमा ३० प्रतिशत, नयाँ प्रविधि प्रदर्शन एवम् विक्रीका लागि २० र सबै व्यवसायीका लागि खुला स्टलतर्फ न्यूनतम २० प्रतिशत छूट दिनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । मेलाको अवधि पनि कार्यविधिमा तोकिएको छ । धार्मिक र खेलकुद मेला–महोत्सवमा अधिकतम ७ दिन निर्धारण गरिएकोमा उपयुक्त कारणसहित सुरक्षा निकायको सहमतिसहित निवेदन दिएमा ३ दिन म्याद थपको अनुमति दिनसक्ने व्यवस्था छ । धार्मिक मेला–महोत्सव बिहान ५ बजेदेखि साँझ साढे ९ बजेसम्म र अन्य व्यावसायिक स्टल तथा मनोरञ्जनात्मक एवम् सांगीतिक कार्यक्रमको हकमा बिहान १२ बजेदेखि साँझ ६ बजेसम्म निर्धारण गरिएको छ । हिउँदमा र अन्य समयमा साँझ साढे ७ बजेपछि सञ्चालन गर्न नपाइने उल्लेख छ । आयोजकले कानूनविपरीतका कार्य गरेमा वा गराएमा पहिलो पटकका लागि १० हजार, गल्ती दोहोर्‍याएमा प्रत्येक पटक दोब्बर र ध्वनि तथा वातावरण प्रदूषण गरेमा ५ हजार रुपैयाँ असुल गरिनेछ । कार्यविधिमा अनुगमन टोलीको सुझाव पालना नगरेमा ५ हजार जरीवाना र ३ पटकभन्दा बढी गल्ती दोहोर्‍याएमा मेला सञ्चालनमा रोक लगाउने उल्लेख गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)