ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नारच्याङमा अवैध क्रसर उद्योग सञ्चालन

Jan 7, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा लामो समयदेखि अवैध रूपमा क्रसर उद्योग सञ्चालन भएको पाइएको छ । जलविद्युत् आयोजनाको आडमा क्रसर सञ्चालन गरेर नदीजन्य पदार्थको दुरुपयोग गरेको खुलासा भएको हो । नारच्याङको पटारस्थित मिस्त्रीखोलाबाट नदीजन्य पदार्थको उत्खनन गरी निकासी गर्ने गरिएको छ । अवैध रूपमा क्रसर उद्योग सञ्चालन गरेर नदीजन्य पदार्थको उत्खनन गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर गर्बुजा पुनले बताए । अवैध सञ्चालित क्रसरलाई कानूनी दायरामा ल्याउन गाउँ कार्यपालिकामा छलफल भएको उनको भनाइ छ । क्रसरले लापरबाही तरीकाले नदीजन्य पदार्थको उत्खनन गर्दा आसपासका क्षेत्र समेत जोखिममा परेका छन् । नारच्याङमा निर्माणाधीन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको नाममा अनुमति लिएर सञ्चालित क्रसरले दिनहुँ बेनी–जोमसोम सडक खण्ड, दाना सबस्टेशन, पक्की पुल लगायतका योजनामा सामग्री विक्री गर्ने गरेको छ । ‘जलविद्युत् आयोजनाले सञ्चालन गरेको हो भने बाहिर विक्री गर्न पाइँदैन,’ गाउँपालिका अध्यक्ष पुनले भने । गाउँपालिकालाई क्रसरले कर पनि तिरेको छैन । जलविद्युत् आयोजनाकै भए पनि नदीजन्य पदार्थको उत्खनन गर्दा स्थानीय तहलाई कर बुझाउनुपर्ने प्रावधान छ । क्रसर सञ्चालन गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्डलाई मिचिएको ती स्थानीयले गुनासो पोखे । क्रसरले सीमित व्यक्तिलाई फाइदा भएपनि गाउँलेलाई सास्ती भएको स्थानीय बताउँछन् । क्रसरले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहँदा अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) समेत मौन बसेको छ । क्रसर सञ्चालक र एक्यापबीच मिलेमतो हुन सक्ने स्थानीयको आरोप छ । नारच्याङका वडा अध्यक्ष चन्द्रप्रसाद फगामीले क्रसर उद्योगका बारेमा आफूलाई कानूनी जानकारी नभएको बताए । क्रसर उद्योगका कारण पटार, बास्बोट जोड्ने सडक जोखिममा परेको छ । दैनिक सञ्चालनमा रहेको क्रसरका बारेमा स्थानीयले चर्को विरोध गरे पनि सञ्चालक नै ठूला राजनीतिक दलमा आबद्ध रहेकाले समस्या भएको बताइएको छ । यता, क्रसर सञ्चालक तेज गुरुङले जलविद्युत् आयोजनाको क्रसर भएकाले अवैध भन्न नमिल्ने बताए । बाहिर सामग्री विक्री गरेको भन्ने भनाइ गलत भएको उनको जिकीर छ । गुरुङ अन्नपूर्ण संरक्षण परियोजना नारच्याङ व्यवस्थापन समितिका अध्यक्ष हुन् । जलविद्युत् सञ्चालन गरेवापत स्थानीयलाई आम्दानी हुने गरी आयोजना र स्थानीयको संयुक्त लगानीमा स्थापना गरिएको उनको दाबी छ । क्रसरबाट वार्षिक ८० लाखसम्म कमाइ हुने अनुमान गरिएको छ । क्रसरका बारेमा गाउँ कार्यपालिकामा छलफल भएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले बताए । कानूनी दायरामा नआए क्रसर बन्द गराउन सम्बन्धित निकायमा पहल गरिने उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)