ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भेरी–बबइ डाइभर्सन : माघभित्र सुरुङ निर्माण पूरा

Jan 11, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा छिटो गतिमा काम भइरहेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । १२ किलोमिटर कूल सुरुङमध्ये १० दशमलव ३ किलोमिटरको निर्माण सकिइसकेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख सञ्जीव बरालले अब कुनै प्रतिकूल परिस्थिति सिर्जना नभए माघ अन्तिमसम्म सुरुङ निर्माण पूरा हुने बताए । सम्झौतामा आगामी मार्चभित्र निर्माण कार्य सकिसक्नु पर्ने उल्लेख छ । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेशिन (टीबीएम)बाट सुरुङ निर्माण कार्य भइरहेको छ । भेरीको पानीलाई सुरुङमार्फत बबईमा खसालेर विद्युत उत्पादन गर्ने र बाँके–बर्दियामा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले सरकारले उक्त आयोजनालाई अघि बढाएको हो । अमेरिकी कम्पनी रोबिन्सले उत्पादन गरेको टीबीएम चालकरहित अत्याधुनिक प्रविधिको मेशिन हो । गत वर्ष कात्तिक मसान्तदेखि मेशिनले सुरुङ खन्न थालेको थियो । चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रूप लिमिटेड कोभेकले सुरुङ निर्माण गरिरहेको छ । आयोजना अहिले बाँध र विद्युतगृह निर्माणको पूर्वतयारीमा जुटेको छ । हाल सिँचाइ विभागले बाँध र विद्युतगृह निर्माण सम्बन्धी प्रतिवेदन अध्ययन गर्दैछ । दुई ठूला संरचना निर्माण हुने भएकाले विभागले विस्तृत अध्ययन गरिरहेको बताइएको छ । आयोजना प्रमुख बरालले प्रतिवेदन स्वीकृत भएपछि विश्वव्यापी बोलपत्र आह्वान गरिने बताए । ‘सन् २०१९ को अप्रिलसम्म संरचना निर्माणअन्तर्गत पूर्वतयारीका सबै काम सक्छौं’, उनले भने, ‘यस अवधिमा ठेक्का छनोट, जग्गा अधिग्रहण लगायतका काम सम्पन्न गरिने छ ।’ छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत पर्ने चिप्लेमा बाँधस्थल बन्दैछ । पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत उत्पादन र तेस्रो चरणमा बाँके–बर्दियामा सिँचाइ योजना विस्तार गरिने बताइएको छ । चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाई प्रतिसेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिनेछ । त्यही पानीबाट बबई किनारमा ४८ मेगावाट विद्युत उत्पादन गरिनेछ । बबईमा खसालिएको पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ । स्वदेशी लगानीमा निर्माण हुन लागेको आयोजनाको प्रारम्भिक कूल लागत साढे १६ अर्ब अनुमान गरिए पनि बढ्न सक्ने बताइएको छ । आयोजना सम्पन्न भएमा बाह्रै महीना सिँचाइ उपलब्ध भई कृषि उत्पादन बढ्ने विश्वास गरिएको छ । साथै आयोजनाबाट वार्षिक रू. ३ अर्ब १० करोड अप्रत्यक्ष तथा विद्युतबाट २ अर्ब १० करोड प्रत्यक्ष आम्दानी हुने अनुमान छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)