ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक र बाह्य पर्यटकबीच लोकप्रिय हुँदै गोरु जुधाइ

Jan 13, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्व (गोरु जुधाइ) आन्तरिक र बाह्य पर्यटकबीच लोकप्रिय बन्दै गएको छ । नेपाली आन्तरिक पर्यटन बजारमा गोरु जुधाइसमेत ‘पर्यटकीय प्रडक्ट’ को रूपमा विकास हुँदै गएको सरोकारवालाको धारणा छ । यसवर्ष माघे संक्रान्तिका अवसरमा ४७ हल गोरु जुधाइने भएको छ ।

परापूर्वकालदेखि माघे संक्रान्ति पर्वका अवसरमा गोरु जुधाउने प्रचलन रहिआएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले नुवाकोटको बेत्रावती, तारुका, घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने जानकारी दिएको छ ।

नेपाल पर्यटन बोर्डका सदस्य दीपक महतले नेपालमा हिमाल, नदीनाला मात्र नभई यहाँको संस्कृति पनि पर्यटकको लागि आकर्षक गन्तव्य भएको बताए । उनले पछिल्लो समय गोरु जुधाइ पर्वमा आन्तरिक तथा बाह्य पर्यटकको रुची बढ्दै गएको बताए । पर्यटन व्यवसायीद्वय रामशरण थपलियाले गोरु जुधाइ पर्वलाई स्थानीय कला संस्कृतिसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए ।

नुवाकोटको तारुकमा २३, बेतावतीमा आठ र घले गाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउन दर्ता भएको अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए । तारुका गोरु जुधाइ मेला आयोजक समिति सदस्य विष्णु तारुकेले गोरु जुधाइसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम यसै वर्षदेखि थप गरिएको जानकारी दिए । तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक तिथिमिति कतै नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो करीब दुई सय वर्ष पुरानो मानिन्छ ।

तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौं, धादिङका गरी हजारौंको संख्यामा दर्शकको सहभागिता हुने गर्दछ । यस्तै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको थलो बेत्रावतीमा पनि गोरु जुधाइ हुने भएको छ । पछिल्लो ६ वर्षदेखि बेत्रावतीमा माघे संक्रान्तिमा गोरु जुधाइँदै आएको छ । यस्तै यस वर्ष आठ हल गोरुको दर्ता भइसकेको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलले जानकारी दिए । प्रतियोगितामा सामेल भएका गोरु शारीरिक रूपमा अशक्त भएमा वा सिङमात्रै भाँचिएमा पनि बीमाको व्यवस्था गरिएको छ । विजेता तथा उपविजेतालाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)