ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगरमा अन्तरराष्ट्रिय प्रदर्शनीस्थल निर्माण गर्ने सम्झौता

Jan 13, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

पुस २९, विराटनगर । औद्योगिक नगरी विराटनगरमा अन्तरराष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणको लागि सम्झौता भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्वो र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको रोहवरमा आइतवार स्थानीय सत्यनारायण मन्दिर सञ्चालन समिति र उद्योग संगठन मोरङबीच प्रदर्शनीस्थल निर्माण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । विराटनगर महागनरपालिकाको सहकार्यमा वडा नं. ३ स्थित सत्यनारायण मन्दिर सञ्चालन समितिको स्वामित्वमा रहेको जग्गामा सार्वजनिक तथा परोपकारी कार्य गर्ने प्रयोजनस्वरुप प्रर्दशनीस्थल निमार्ण गर्न पहल थालिएको उद्योग संगठन मोरङले बताएको छ ।

हस्ताक्षर कार्यक्रममा संघीय मामिला मन्त्री पण्डितले विराटनगरसहित प्रदेश १ कै लागि महत्व राख्ने प्रदर्शनीस्थलको निर्माणले गति लिनु सकारात्मक भएको बताए । ‘प्रदर्शनीस्थल निर्माण भए औद्योगिक उत्पादनको प्रवर्द्धन गर्नसमेत मद्दत पुग्ने छ,’ उनले भने, ‘लामो समयदेखि यस क्षेत्रका उद्योगी व्यवसायीले उठाएको मुख्य मागले अब सार्थकता पाउनेछ ।’

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री आङ्वोले प्रदर्शनीस्थलको अभावमा उद्योगी व्यवसायीले आफ्नो वस्तु तथा उत्पादनको बजार प्रवर्द्धन गर्नबाट वञ्चित भईरहेको अवस्थामा अब स्थल निर्माण भएपछि, त्यो अभावलाई पूर्ति गर्ने बताए । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महानगरपालिका समेतको सहकार्यमा यसक्षेत्रको गौरवका रुपमा निर्माण हुने प्रदर्शनी स्थल आर्थिक गतिविधिलाई चलायमान बनाउन कोशो ढुंगा साबित हुने धारण राखे ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी स्थलको अभावमा वार्षिक रुपमा आयोजना गर्ने लक्ष्य लिइएको विराट एक्स्पो जस्ता प्रदर्शनीलाई निरन्तरता दिन अब सहज हुने बताए । घिमिरेले प्रदर्शनीस्थलको शिलन्यास यसै आर्थिक वर्षमा गरी निर्माण कार्यलाई तिव्रता दिने बताए । प्रर्दशनीस्थल निमार्ण गर्ने सम्बन्धी सो सम्झौता पत्रमा उद्योग संगठनका तर्फबाट निवर्तमान अध्यक्ष मुकेश उपाध्याय, पूर्व अध्यक्ष सुशिल धनावत, शिवशंकर अग्रवाल, वरिष्ठ उपाध्यक्ष सुयष प्याकुरेल, उपाध्यक्ष प्रदिप मुरारका, राजकुमार गोल्छा, राकेश सुराना, तथा सत्यनाराण मन्दिर सञ्चालन समितिका तर्फबाट ईन्जिनियर किशोर थापा, रामप्रसाद खतिवडा, माधवप्रसाद कोइरालाले हस्ताक्षर गरेका छन् ।

औद्योगिक नगरी विराटनगर भएरपनि यस क्षेत्रमा प्रर्दशनीस्थल नहुदा याँहाका उद्योगी व्यवसायीहरुले व्यापार प्रवर्द्धनका लागि व्यापार मेलाहरुको सहज रुपमा आयोजन गर्न सकिरहेका छैनन् । गत पुस पहिलो साता विराटनगर–३ स्थित खाली जग्गामा आयोजना गरिएको मेलाका लागि मेलास्थलको व्यवस्थापनमा मात्र रू. ३ करोड खर्च भएको बताइएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)