माघ १, पर्वत । जिल्लाको जलजला गाउँपालिकाले चालू आर्थिक वर्षको पहिलो ६ महीनामा सम्पत्ति करबापत २४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गाउँपालिकाले साउन १ गतेबाट लागू भएको सम्पत्ति तथा भूमिकर बापत पुस मसान्तसम्म ३ हजार ४०४ जनाबाट २४ लाख १६ हजार ५११ रुपैयाँ राजस्व संकलन भएको गाउँपालिकाका प्रशासकीय अधिकृत मुना अधिकारीले जानकारी दिइन् । चालू आर्थिक वर्षमा सम्पत्ति तथा भूमिकरबाट ४० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको जानकारी गराउँदै उनले भनिन् ‘राजस्व संकलनको लक्ष्य उत्साहजनक छ ।’
अधिकारीका अनुसार गाउँपालिकाका ९ ओटै वडाका ५ हजार ५२१ जनाको २६ हजार ९४८ कित्ता जग्गा भूमि तथा सम्पत्ति करका लागि अभिलेखीकरण भएको छ । गत असारमा भएको गाउँसभाले पुस मसान्तसम्म भूमि तथा सम्पति कर तिर्ने सर्वसाधारणका लागि दश प्रतिशत छुटको सुविधा दिएको थियो । सो अवधिको अन्तिम समयको केही दिन गाउँपालिकाको कार्यालयमा आएर राजस्व बुझाउनेको भिड लागेको अधिकारीले बताइन् ।
राजस्व संकलनका लागि गाउँपालिकाले घुम्ति शिविर समेत सञ्चालन गरेको छ । गाउँपालिकाले पुस ७ देखि २३ गतेसम्म ९ ओटै वडा कार्यालयमा घुम्ती टोली परिचालन गरेर २ हजार ५६७ जनाबाट १४ लाख ५६ हजार ९२३ रुपैयाँ राजस्व संकलन गरेको थियो । जलजलाले चालू आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रमा रहेको जग्गा तथा उक्त जग्गामा बनेका घर, गोठ, टहराको कर लिन शुरु गरेको छ । गाउँपालिकाले करको दायरामा नआई सञ्चालन भइरहेका व्यवसायलाई पनि करको दायरामा ल्याउन जोड गरिरहेको छ ।