रुकुम । रुकुममा जाडो बढेसँगै राडीपाखीको व्यापार बढेको छ । स्थानीय कच्चा पदार्थ भेडाको ऊन, अल्लो, केतुके, केरा लगायतका रेसाबाट निर्माण गरिने राडीपाखी कपडाहरू (स्वेटर, गलबन्दी, ज्याकेट, रुमाल, कम्बल, टोपी) को कारोबार बढेको हो । असोज पहिलो सातादेखि फागुन अन्तिम सातासम्म राडीपाखीको कारोबार बढ्ने स्थानीय व्यापारीहरू बताउँछन् ।
पुथा उत्तरगंगा गाउँपालिका–५ की व्यापारी सूर्यकुमारी पुनले भनिन्, ‘महीनामा झण्डै डेढ लाख रुपैयाँ बराबरको विक्री हुने गर्दछ ।’ पूर्वी रुकुमको तकसेरा, कोल राङ्सी, सिस्ने, हुकाम, मैकोट, जाङ, काक्री लगायत स्थानका स्थानीय महिलाहरूले राडीपाखीको उत्पादन र विक्रीबाट राम्रो आम्दानी गर्ने गरेका छन् । भुमे गाउँपालिका–८, रुकुमकी भोगीलाख विकले प्रत्येक वर्ष राडीपाखी विक्रीबाट साढे दुई लाखभन्दा बढी आम्दानी गर्ने गरेको बताइन् ।
उनका अनुसार रुकुममा उत्पादित राडीपाखी बलियो, भरपर्दो र गुणस्तरीय हुने भएकोले जिल्लाका साथै पोखरा, काठमाडौं, नेपालगञ्ज, सुर्खेत लगायतको क्षेत्रमा माग बढ्दो छ । कम लगानी र मेहनतबाट स्थानीय कच्चा पदार्थको प्रयोग गरेर राम्रो कमाइ हुने भएपछि पूर्वी रुकुमका घरैपिच्छे राडीपाखी उत्पादन हुने गरेको घरेलु तथा साना उद्योग विकास समिति रुकुमका निमित्त उद्योग अधिकृत गोविन्द ददेलले बताए ।
उनका अनुसार पूर्वी रुकुमका एक दर्जन गाविसमा झण्डै ५ हजारभन्दा बढी महिलाले राडीपाखीको व्यवसाय गरिरहेका छन् । एउटा राडीपाखीको मूल्य १ हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्म रहेको छ । पूर्वी रुकुममा घरेलु तानमार्फत राडीपाखी बुन्ने गरिन्छ ।