सुदूरपश्चिम प्रदेश : राजधानी बनाउन अर्बौं बजेट आवश्यक
Jan 17, 2019
 
प्रदेश समाचार
धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी निर्माणका लागि अर्बौं बजेट आवश्यक पर्ने देखिएको छ । प्रदेश सरकारले कैलालीको गोदावरी नगरपालिकास्थित तेघरी (अत्तरिया) मा स्थायी राजधानी तोकेको छ । त्यहाँ भौतिक पूर्वाधार निर्माणमा मात्रै उक्त लगानी आवश्यक पर्ने शहरी विकास तथा भवन निर्माण विभागको डिभिजन कार्यालय धनगढीले जानकारी दिएको छ ।
नयाँ ठाउँमा राजधानी बनाउँदा कम्तीमा ६÷७ अर्ब लाग्ने र निर्माणमा ढिलाइ भए लागत बढ्ने कार्यालयका प्रमुख सुरेश वाग्लेको भनाइ छ । तेघरीमा राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न ठूलो बजेट आवश्यकता पर्ने सुदूरश्चिम प्रदेश सरकारले समेत बताएको छ ।
प्रदेश राजधानीका लागि भौतिक पूर्वाधार पहिलो शर्त हो । प्रदेश प्रमुखको सचिवालय, प्रदेशसभाको बैठक भवन, सचिवालय, मुख्यमन्त्री र प्रदेश मन्त्रालय, प्रदेश विभाग र प्रदेश स्तरमा रहने कार्यालयको भवन निर्माणका लागि अर्बौं रुपैयाँ आवश्यक पर्ने सरकारको भनाइ छ । तेघरीमा थुप्रै भौतिक संरचना निर्माण गर्न राज्यको स्रोतबाट रकम जुटाउन सजिलो नहुने वाग्लेले बताए ।
अस्थायी राजधानी घोषणा गरिएको धनगढीमा थुप्रै सरकारी संरचना तयार छन् । धनगढीमा अहिले ७ मन्त्रालयसहित प्रदेश प्रमुखको कार्यालय, मन्त्री र कर्मचारीहरूको निवासको व्यवस्था गरिएको छ । धनगढीमा अस्थायी राजधानी घोषणापछि उक्त भवनहरूमा झण्डै रू. १२ करोड मर्मतसम्भार बापत खर्च भएको छ ।
प्रदेशको स्थायी राजधानी गोदावरी तोकिए पनि प्रदेश सरकारले यस वर्ष पनि धनगढीस्थित विभिन्न मन्त्रालयका लागि करोडौ रुपैयाँ भौतिक संरचना निर्माणका लागि छुट्याएको छ । प्रदेश सरकारले एक मन्त्रालयका लागि विभिन्न शीर्षकमा करीब ५ करोड रकमका दरले बजेट छुट्याएको भौतिक पूर्वाधार मन्त्रालयका लेखाअधिकृत धर्मानन्द लेखकले बताए ।