ह्यरिसन प्यालेस : आश्चर्यजनक बिजनेश गर्दै शाकाहारी ‘फोर स्टार’ होटल
Jan 17, 2019
 
प्रदेश समाचार
विराटनगर ।औद्योगिक नगरी विराटनगरको तीनपैनी पुरानो आवास क्षेत्र हो । बसोवासका हिसाबले यहाँ उद्योग व्यवसायी, निजामती कर्मचारीदेखि विभिन्न पेशामा आबद्ध मानिस रहेका छन् । बाक्लो बस्ती रहेको तीनपैनीमा बढेको शहरीकरणले अब छोराछोरीको विवाह तथा केही ठूला जमघट गर्न हरेक घरमा ठाउँको अभाव हुन थालेको छ ।
यस्ता उत्सवहरूलाई स्मरणीय बनाउन त्यसको भव्यताको एक महत्त्वपूर्ण भूमिका हुन्छ । २ वर्षअघिदेखि दुगड समूहले तीनपैनीको बञ्जरा चोकमा सञ्चालनमा ल्याएको शाकाहारी ‘होटल ह्यरिसन प्यालेस’ले उक्त सुविधा उपलब्ध गराएको छ ।
समुदायका माझमा निर्मित यस होटलको बाहिरी संरचना उक्त क्षेत्रको गहना बनेको छ । त्यसैगरी गेटबाट भित्र छिर्नासाथ मूल ढोकामा उभिएका सुरक्षा गार्डको राजस्थानी पोशाकले हरेकका लागि नौलो अनुभूति दिन्छ । चारतारे वर्गको बुटिक डिजाइनको यस होटलका भित्ता तथा कोठाको सजावटले थप आकर्षित गर्छन् ।
आफूहरूले पाँचतारे स्टार होटल सरह सुविधा उपलब्ध गराएको ह्यरिसनकी कार्यकारी निर्देशक शोभना दुगड बताउँछिन् । होटलमा मसाज कुर्सी, ज्याकुजी, स्वीमिङ पुल, हेल्थ क्लब तथा बालबालिकाका लागि गेम जोनको समेत व्यवस्था छ । त्यसैगरी प्रेसिडेन्सियल, रोयल, इम्पेरियल स्वीटका साथै विभिन्न आठ वर्गका कुल ५० ओटा कोठा रहेका छन् ।
ती कोठाको पूर्ण क्षमता १ सय ३० भन्दामाथि छ । २ सय जना क्षमता रहेको कन्फ्रेन्स हल र ५ सय ५० जना क्षमताको ब्याङ्क्वेट हलले स्थानीय उद्योग, संघसंस्थाका साथै समुदायका विभिन्न जमघटलाई सेवा दिइरहेका छन् ।
लन्च र डिनरमा मागअनुरूपका परिकार तत्काल बनाएर दिने (अ ला कार्ट) सुविधा तथा डिनरसँगै लाइभ म्युजिकको आनन्द लिने व्यवस्था पनि छ । विराटनगर विमानस्थल र बसपार्कबाट करीब १५ मिनेट सवारीको दूरीमा रहेको होटलले आफ्ना अतिथिलाई होटल ल्याउने लैजाने व्यवस्था गरेको छ । त्यति मात्रै होइन, प्रदेश १ को राजधानीमा अवस्थित यस होटलले आफ्नो प्रदेशभित्रका इलाम, भेडेटार, कोशीटप्पु लगायत पर्यटकीय स्थल भ्रमणको प्याकेज पनि राखेको छ ।
शाकाहारी समुदायका रूपमा चिनिने मारवाडी समुदायका व्यक्तिहरू विवाह तथा अन्य पार्टीका लागि ह्यरिसन रोज्ने गर्छन् । त्यसबाहेक अन्य समुदायको रोजाइमा पनि होटल ह्यरिसन पर्ने गरेको छ । विगत करीब २० वर्ष देश तथा विदेशका ठूला होटलमा काम गरेको अनुभवी ह्यरिसनका होटल म्यानेजर प्रदीप पोखरेल शाकाहारी परिकारको आश्चर्यजनक व्यापार रहेको बताउँछन् । विगतमा सधैं सर्वहारी होटलमा काम गरेका उनी आफै पनि शाकाहारी परिकार धेरै हुँदैनन् भन्ने सोच्थे । तर, यहाँ रहेका परिकार र एकपटक उक्त परिकार चाखिसकेपछि फर्कीफर्की आइरहेका मानिस देखेर दंग छन् उनी । होटलले किसानसँग सहकार्य गरी खेतबाटै ताजा तथा अर्गानिक तरकारी ल्याई आफ्ना अतिथिलाई खुवाउने गर्छ ।
होटलका जेनेरल म्यानेजर राजेन्द्रप्रसाद दाहाल होटल ८० प्रतिशत अक्युपेन्सीमा चलिरहेको बताउँछन् । अनलाइनबाट बढीजसो अतिथि आइपुग्ने यस होटलका अतिथिहरूमा नेपाली, चिनियाँ, भारतीयका साथै अन्य देशका पनि रहने गरेका छन् । करीब २० प्रतिशत अतिथि विदेशी हुने गरेको होटलको तथ्यांकले देखाउँछ ।
दुई वर्षभित्रै आफ्नो लगानी उठाई हाल नाफामा रहेको होटलले जानकारी दिएको छ । सरकारले प्रदेश १ का पर्यटकीय क्षेत्रको बजारीकरण गर्ने हो भने होटल व्यवसाय फस्टाउन धेरै मद्दत पुग्ने कार्यकारी निर्देशक दुगडको भनाइ छ ।