माघ ५, सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी नेत्र विक्रम चन्द (विप्लव) समूहले बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतमा दुई सवारीसाधनमा आगजनी गरेको छ । विप्लव समूहले शनिवार विहान पश्चिम सुर्खेतको बड्डीचौर र सदरमुकाम वीरेन्द्रनगर नजिकै सत्तरीमा गरी दुई ओटा मालबाहक सवारीसाधनमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
आगजनी भएको सूचना पाए लगत्तै थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए । उनका अनुसार नेपालगञ्जबाट खाद्यान्न बोकेर सुर्खेत आउँदै गरेको ना ६ ख ७३१३ नम्बरको ट्रक सत्तरीमा र ना ६ ख १७३२ नम्बरको ट्र कबड्डीचौरमा आगजनीमा परेका हुन् । बन्दका कारण सुर्खेतबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् ।
गत पुस २२ गते सुर्खेत प्रहरीले झुठा मुद्दामा आफ्ना दुई जना कार्यकर्तालाई पक्राउ गरेपछि रिहाईको माग गर्दे एक दिने सुर्खेत बन्द आह्वान गरिएको विप्लव समूहका सुर्खेत जिल्ला सेक्रेटरी यमराजले बताए ।