ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरेन्द्रनगर औद्योगिक क्षेत्र : जग्गा ‘होल्ड’ गर्नेलाई कारबाही भएन

Jan 20, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा जग्गा लिएर उद्योग सञ्चालन नगर्नेलाई कारबाही हुन सकेको छैन । उद्योगका नाममा जग्गा लिएर महँगो रकममा अर्को व्यवसायीलाई भाडामा दिने जस्ता कार्यलाई निरुत्साहित गर्न नसक्दा जग्गा ‘होल्ड’ गर्ने प्रवृत्ति बढेको हो । औद्योगिक व्यवस्थापन कार्यालयले उद्योग सञ्चालन गर्नेलाई प्राथमिकता नदिँदा र उचित व्यवस्थापन नहुँदा औद्योगिक क्षेत्र स्थापना भएको साढे तीन दशक बितिसक्दा समेत औद्योगिक क्षेत्र समस्याग्रस्त छ । औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूबाट न त सुर्खेतको उद्योग व्यवसायमा टेवा पुगेको छ, न त यहाँ ठूला उद्योगहरू नै स्थापना हुन सकेका छन् । बरू जग्गा ओगेटेर उद्योग नै सञ्चालन नगर्ने प्रवृत्ति बढेको छ । २०३८ मा डेनमार्क सरकारको सहयोगमा स्थापना गरिएको औद्योगिक क्षेत्रमा जग्गा ओगट्ने प्रवृत्ति पछिल्लो समय थप बढेको छ । उद्योगहरूलाई लामो समयसम्म जग्गा भाडामा दिने र नवीकरण समेत गर्न नपर्ने व्यवस्था छ । यसले जग्गा होल्ड गर्न सजिलो भएको छ । औद्योगिक क्षेत्रको उचित व्यवस्थापन नहुँदा कतिपयले सहुलियतमा पाएको जग्गा महँगोमा अरूलाई भाडामा लगाएको उद्यमीहरू बताउँछन् । ९० रोपनी क्षेत्रफल रहेको औद्योगिक क्षेत्रमा ‘जग्गा’ होल्ड गर्नेलाई आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख जितनारायण बञ्जाडेले बताए । उनले जग्गा होल्ड गर्ने र जग्गा भाडामा लगाउनेहरूको सूची निकालेर कारबाहीका लागि सिफारिश गरिने दाबी गरे । उनका अनुसार विगतमा औद्योगिक क्षेत्रभित्रका उद्योगले जग्गा होल्ड गरेर भाडामा लगाएका हुन् । हाल चारओटा निर्माणाधीन उद्योगहरूलाई जग्गा दिएर निर्माणको अन्तिम चरणमा पुगिसकेको उनी बताउँछन् । औद्योगिक क्षेत्रमा रहेका २८ ओटा उद्योगमध्ये पानी उद्योग, काठजन्य उद्योगहरू सञ्चालनमा छन् भने केही सञ्चालनका लागि पूर्वाधार निर्माणमा लागेका छन् । तर, उद्योगको नाममा जग्गा लिएर कुखुरापालन पनि सञ्चालन गरिएको छ भने केही उद्योग बन्द गरेको पनि वर्षौं भएको छ । कच्चा पदार्थको अभाव र विद्युत्को समस्याले गर्दा उद्योगहरू बन्द हुने भएकाले जग्गा रोकिएको जस्तो देखिएको व्यवसायीहरूको भनाइ छ । अनियमित विद्युत्का कारण क्षमताअनुसार उत्पादन गर्न नसक्दा मजदूरले कामै नगरे पनि सेवासुविधा दिनुपर्ने बाध्यताका कारण नोक्सानीमा उद्योग चलाउनुभन्दा बन्द गर्ने निर्णयमा पुगेको सिद्धार्थ सःमिलका सञ्चालक हरि थापाले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)