माघ ९, रौतहट । रौतहटमा रहेको खेतियोग्य जमिनमा सिंचाई गर्नका लागि जमुनी सिंचाई आयोजनाको पानी ल्याइने भएको छ । खेतियोग्य जमिनमा सिंचाईको अभावका कारण कृषिजन्य उत्पादन हुन छाडेपछि जमुनी सिंचाई आयोजनाको पानी ल्याइने भएको हो । गण्डक नहर हुँदै ६ महीनाभित्र जमुनी नदीको पानी ल्याइने नारायणी सिंचाई व्यवस्थापन कार्यालयले जानकारी गराएको छ । बाराको कोतवालीस्थित जमुनी नदीमा निर्माणाधिन आयोजनाको ब्यारेजको काम करीब ९० प्रतिशत सम्पन्न भइसकेको र सो ब्यारेजको ढोकाको काम गर्न मात्रै बाँकी रहेको कार्यालयको भनाइ छ ।
सो ब्यारेज निर्माणको लागि २०७२ साल माघ १४ गते कुमार–आशिष–अमर जेभी, कालीमाटी, काठमाडौंले रू. २२ करोड ८१ लाखमा जिम्मा लिएको थियो । २०७४ माघ १३ गते निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि एक वर्ष बढी समय बितिसकेको छ । ब्यारेजका लागि ५४ टनको ढोकाको डिजाइन गरिएकोमा पानीका बहाबका कारण १४४ टनको ढोका राख्नुपर्ने भएकाले समयमै काम सम्पन्न हुन नसकेको नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगञ्जका प्रमुख राजेन्द्रप्रसाद साहले बताए ।
जमुनी नदीमा ब्यारेज निर्माण गरी बारा र रौतहटका किसानलाई सिंचाई सुविधा उपलब्ध गराउने सरकारको लक्ष्य छ । अबको ६ महीनाभित्र सिंचाई सुविधाको लागि गण्डकमा पानी छाडने र पहिलो चरणमा ११ देखि १३ नम्बर सेक्टरसम्म पानी पुर्याइने साहले बताए । सो नहरमा पानी सञ्चालनमा आएपछि आकाशे पानीको भरमा खेति गर्दै आएका रौतहटका दक्षिण, पूर्वी भेगका किसानलाई राहत पुग्ने छ । रौतहटको ८ हजार ३०० हेक्टर र बाराको १ हजार २०० हेक्टर गरी साढे ९ हजार हेक्टर खेतियोग्य जमिनमा सिंचाई पुग्ने दाबी आयोजनाको छ । उक्त नहरबाट ल्याइएको पानी बाराको सेक्टर ११ र १२ तथा रौतहटको १३, १४ तथा १५ नम्बर सेक्टर हुँदै बागमती नदीसम्म पुर्याइने छ ।
नहर र ब्यारेजको कामको प्रगति बुझ्न रौतहट निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद महम्मद आफताव आलमको नेतृत्वमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु आयोजना स्थल पुगेका थिए ।