कृषि विकास बैंकद्वारा सुदूरपश्चिमका ९ जिल्लामा ५ अर्ब ९७ करोड लगानी
Jan 24, 2019
 
बजार
धनगढी । कृषि विकास बैंकले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा गरी चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्ममा ५ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय धनगढीका अनुसार व्यावसायिक कृषि क्षेत्रमा बैंकका विभिन्न शाखा कार्यालयमार्फत लगानी बढ्दै गएको छ । बैंकको सो अवधिसम्ममा प्रदेशभित्र सञ्चालित शाखाहरूमार्फत कृषि व्यवसाय शीर्षकमा १ अर्ब ३५ करोड ३७ लाख लगानी भएको उक्त कार्यालयका निर्देशक हरिश्चन्द्र यादवले जानकारी दिए । यो कुल कर्जा लगानीको २२ प्रतिशत हो ।
अघिल्लो आव २०७४/७५ मा कृषि विकास बैंकले प्रदेशभित्र ३३ प्रतिशत लगानी गरेकोमा चालू आवको ६ महीनामा लगानी प्रतिशत केही कम भएको बताइएको छ । चालू आवको ६ महीनाको अवधिमा बैंकले कृषिबाहेक क्षेत्रमा करीब साढे ४ अर्ब लगानी गरेको निर्देशक यादवले बताए ।
बैंकका सुदूरपश्चिममा एक क्षेत्रीयसहित २७ ओटा शाखा कार्यालय सञ्चालित छन् । बैंकको क्षेत्रीय कार्यालय धनगढीको तथ्यांकअनुसार विगतमा ५० प्रतिशतभन्दा बढी लगानी कृषिमा रहे पनि पछिल्लो समय अनुत्पादक क्षेत्रमा लगानी ह्वात्तै बढेको छ भने कृषि क्षेत्रको लगानीदर घट्दै गएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई कुनै एउटा क्षेत्रमा ४० प्रतिशतभन्दा बढी लगानी नगर्न निर्देशन जारी गरेकाले कृषि क्षेत्रको लगानी घटाउनु परेको दाबी बैंकको छ ।