रौतहट । रौतहटको खेतीयोग्य जमीनमा सिँचाइ गर्न बाराको जमुनी सिँचाइ आयोजनाको पानी ल्याइने भएको छ । गण्डक नहर हुँदै जमुनी नदीको पानी ६ महीनाभित्रमा ल्याइने नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जले जानकारी दिएको छ ।
कार्यालयका अनुसार सो ब्यारेजको ढोकाको काम गर्न मात्रै बाँकी रहेको छ । बाराको कोतवालीस्थित जमुनी नदीमा निर्माणाधीन आयोजनाको ब्यारेजको काम करीब ९० प्रतिशत सम्पन्न भइसकेको छ । सो ब्यारेज निर्माणको लागि २०७२ माघ १४ गते कुमार–आशिष–अमर जेभी कालीमाटी काठमाडौंले २२ करोड ८१ लाख भ्याटसहितको ठेक्का सकार गरी २०७४ माघ १३ गते निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो ।
जमुनी नदीमा ब्यारेज निर्माण गरी बारा र रौतहटका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ । सो ब्यारेजको ढोका इस्टिमेटमा ५४ टनको डिजाइन भए पनि पानीको बहावको कारण १४४ टनको राख्नुपर्ने देखिएकाले पनि समयमै काम सम्पन्न हुन नसकेको सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद साहले बताए ।
सो नहरमा पानी सञ्चालनमा आएपछि आकाशे पानीको भरमा खेती गर्दै आएका रौतहटका दक्षिणपूर्वी भेगका किसानलाई राहत पुग्नेछ । रौतहटको ८३ सय हेक्टर र बाराको १२ सय हेक्टर गरी साढे ९ हजार हेक्टर खेतीयोग्य जमीन सिञ्चित हुने दाबी आयोजनाको छ ।